नक्कली प्रमाणपत्रमा जागिर, आलिताल–५ की मञ्जु देवी बोहराविरुद्ध अख्तियारको मुद्दा

८ भाद्र २०८३, सोमबार १८:३६

काठमाडौँ। नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता पदमा नियुक्ति लिएको आरोपमा डडेल्धुराको आलिताल गाउँपालिका–५ स्थित श्री भगवती प्राथमिक विद्यालय (आधारभूत विद्यालय), पर्सेरावलकी बालविकास सहजकर्ता मञ्जु देवी बोहराविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार बोहराले उत्तर प्रदेश, माध्यमिक शिक्षा परिषद् भारतबाट सन् २०१० मा हाईस्कुल परीक्षा उत्तीर्ण गरेको देखाउने मार्कसिट, प्रमाणपत्र तथा प्रव्रजन प्रमाणपत्रलगायतका शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता पदमा नियुक्ति लिएकी थिइन्।

उजुरीका आधारमा गरिएको अनुसन्धानका क्रममा बोहराले पेस गरेका शैक्षिक प्रमाणपत्र झुट्टा तथा नक्कली रहेको खुलेको आयोगले जनाएको छ। नक्कली प्रमाणपत्रका आधारमा नियुक्ति लिएपछि उनले पारिश्रमिक, भत्तालगायतका सुविधा समेत लिएको अनुसन्धानबाट देखिएको आयोगको भनाइ छ।

नक्कली शैक्षिक प्रमाणपत्र बनाई वा बनाउन लगाई पेस गरी राष्ट्रसेवकको पदमा नियुक्ति लिएको भन्दै आयोगले बोहराको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको ठहर गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*