कोरोना बीमाको दावी भुक्तानी नदिएको अभियोगमा अजोड इन्स्योरेन्सविरुद्ध विराटनगर उच्च अदालतमा मुद्दा दर्ता

७ आश्विन २०७८, बिहीबार २२:४३

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले कोरोना बीमाको दावी भुक्तानी नदिएको अभियोगमा विराटनगरस्थित उच्च अदालतमा मुद्दा दायर भएको छ । स्थानीय एक जना पत्रकारले आफूसँग अजोड इन्स्योरेन्स कम्पनीले कोरोना बीमा पोलिसी बिक्री गरी करार बमोजिम कोरोना पोजेटिभ भई उपचारपछि निको हुँदासम्म समेत कोरोना बीमाको दावी भुक्तानी नपाएको भन्दै विराटनगरस्थित उच्च अदालतमा मुद्दा दायर गरेका हुन् ।

अजोड इन्स्योरेन्स केन्द्रीय कार्यालय, सो कम्पनीको विराटनगर शाखा तथा बीमा समितिलाई विपक्षी बनाएर दायर गरिएको रिटमाथि सुनुवाई हुँदा १५ दिनभित्र लिखित जवाफ सहित उपस्थित हुन आदेश जारी भएको छ ।

बीमा कम्पनीले कोरोना भाइरसबाट संक्रमित भई आईसोलेशनमा बस्दाका बखत पौष्टिक आहार खान तथा रोजगारी गुमेको अवस्थामा समेत राहत पाउने भन्दै कम्पनीले कोरोना बीमाको शुल्क लिई बीमा पोलिसी बिक्री गरेको तथा सो कोरोना बीमा पोलिसीमा उल्लेखत शर्त बमोजिम दावी भुक्तानी नदिएको भन्दै मुद्दा दायर भएको हो ।

सो मुद्दाको म्याद काठमाडौ जिल्ला अदालत मार्फत अजोड इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालय सुन्धारामा तामेल भइसकेको छ । अब अजोड इन्स्योरेन्स कम्पनीले १५ दिनभित्रमा जवाफसहित विराटनगर उच्च अदालतमा मुद्दाको सामना गर्नुपर्ने भएको छ । अजोड इन्स्योरेन्स स्रोतले विराटनगर उच्च अदालतमा दर्ता भएको कम्पनीविरुद्धको मुद्दा तामेल भएको पुष्टि गरेको छ ।

साथै बीमा समिति समेतलाई विपक्षी बनाएर दायर गरिएको मुद्दा ललितपुर जिल्ला अदालतबाट म्याद तामेल गर्ने प्रक्रियामा रहेको बुझिएकोे छ ।

कोरोना बीमाको दावी भुक्तानी पाउन नसकेका करिब ९० जनाले बीमा कम्पनीहरुलाई कोरोना बीमाको रकम माग गर्दै आएका छन् । साढे तीन अर्बभन्दा बढि जोखिम सरकारले व्यहोर्ने भन्ने कोरोना बीमा मापदण्ड २०७७ मा व्यवस्था भए बमोजिम सरकारले रकम निकासा नगर्दा कोरोना बीमाको दावी भुक्तानी हुन नसकेको बीमा कम्पनीको भन्दै आएका छन् । बीमितहरुले भने बीमा पोलिसी बिक्री गर्ने कम्पनीले स्रोत व्यवस्थापन गरी बीमितलाई जतिसक्दो चाँडो दावी भुक्तानी दिनुपर्ने माग गर्दै आएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*