नेपाल इन्स्योरेन्स कम्पनी आजबाट ८०औं वर्षमा

काठमाडौं । नेपालको बीमा क्षेत्रको इतिहाससँग जोडिएको नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड आजदेखि ७९ वर्ष पूरा गरी ८०औं वर्षमा प्रवेश गरेको छ । वि.सं. २००४ सालमा स्थापना भएको कम्पनीले नेपालको निर्जीवन बीमा व्यवसायमा लामो इतिहास कायम गर्दै नयाँ वर्षमा प्रवेश गरेको हो ।
नेपाल इन्स्योरेन्सको यात्रा नेपालको आधुनिक बीमा व्यवसायको सुरुआती चरणसँग जोडिएको छ । कम्पनी वि.सं. २००४ सालमा तत्कालीन नेपालको पहिलो वाणिज्य बैंक नेपाल बैंक लिमिटेड र सर्वसाधारणको सहभागितामा स्थापना भएको यस कम्पनीले वि.सं. २००६ सालमा उद्योग परिषदबाट इजाजतप्राप्त गरेको थियो । स्थापनाका बेला कम्पनीको नाम नेपाल माल चलानी तथा बीमा कम्पनी थियो । नेपाल बैंकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्वमा कम्पनी स्थापना भएको थियो ।
सुरुआती समयमा नेपालमा बीमा सेवा विस्तारको अवस्था निकै सीमित थियो । त्यही समयमा स्थापना भएको नेपाल इन्स्योरेन्सले निर्जीवन बीमाको क्षेत्रमा आफ्नो सेवा विस्तार गर्दै नेपालको बीमा उद्योग विकासमा भूमिका खेल्दै आएको छ । नेपाल इन्स्योरेन्स तत्कालीन अवस्थामा राष्ट्रिय बीमा व्यवसाय सञ्चालन गर्ने प्रमुख संस्था थियो ।
कम्पनीले स्थापनाको १२ वर्षपछि वि.सं. १०१६ सालमा आफ्नो नाम परिवर्तन गरी नेपाल इन्स्योरेन्स एन्ड ट्रान्सपोर्ट कम्पनी लिमिटेड बनाएको थियो । त्यसपछि वि.सं. २०४८ सालदेखि कम्पनी हालको नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडमा परिणत भई बीमा ऐन, २०७९, बीमा नियमावली २०८१ तथा कम्पनी ऐन, २०६३ बमोजिम निर्जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ ।
समयसँगै कम्पनीले आफ्नो व्यवसाय र सेवा क्षेत्र पनि विस्तार गर्दै आएको छ । हाल कम्पनीले मोटर, सम्पत्ति, घर, इन्जिनियरिङ, हवाई, कृषि तथा पशुपन्छी, सामुद्रिक लगायत विभिन्न प्रकारका निर्जीवन बीमा सेवा उपलब्ध गराउँदै आएको छ । हाल यस कम्पनीको अध्यक्षमा चन्द्र सिंह साउद रहेका छन् भने सबिता श्रेष्ठ जोशी, वीर बिक्रम रायमाझी, सजल मास्के, नन्द किशोर शर्मा र दिपेन्द्र राज काफ्ले सञ्चालक समितिको सदस्य रहेका छन् । त्यस्तै कम्पनीको सीईओमा वीर कृष्ण महर्जन रहेका छन् भने डीसीईओमा ईश्वर पोखरेलले जिम्मेवारी सम्हाली रहेका छन् ।
गत आर्थिक वर्षसम्म आइपुग्दा कम्पनीको चुक्ता पूँजी २ अर्ब ५४ करोड ८५ लाख रुपैयाँ कायम भएको छ भने महाविपत्ति कोषमा ११ करोड ८५ लाख रुपैयाँ रहेको छ । कम्पनीले २ अर्ब ४१ करोड ६६ लाख रुपैयाँको बीमाकोष खडा गर्न सफल भएको छ । गत आवमा १२ करोड ७५ लाख रुपैयाँ खुद नाफा र १ अर्ब १२ करोड ३० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको यस कम्पनीको सोल्भेन्सी मार्जिन अनुपात ४.२८ गुणा रहेको छ । यसले कम्पनीको जोखिमधारण क्षमता उच्च रहेको संकेत गर्छ ।
८०औं वर्ष प्रवेशको अवसरमा कम्पनीले आफ्ना शेयरधनी, बीमित तथा ग्राहक, नियमनकारी निकाय, कर्मचारी, सर्भेयर, अभिकर्ता र अन्य सरोकारवालाप्रति आभार व्यक्त गरेको छ । कम्पनीका अनुसार अहिले देशभर ५४ शाखा कार्यालयमा २९८ कर्मचारी कार्यरत छन् । आगामी दिनमा प्रचलित कानुन तथा नियामकीय निर्देशनको पालना गर्दै अझ प्रभावकारी र उत्कृष्ट बीमा सेवा दिने प्रतिबद्धता कम्पनीले जनाएको छ ।










