बर्षा र बाढीको चेतावनीसँगै त्रस्त छ निर्जीवन बीमा क्षेत्र

काठमाडौं । भर्खरै भोटेकोशी बाढीमा ठूलो क्षतिको बीमा दावी व्यहोरिरहेको नेपालका निर्जीवन बीमा कम्पनीहरु आजदेखि ठूलो बर्षा र बाढीको चेतावनीले थप त्रसित बन्न पुगेको छ ।
रसुवा हुँदै बग्ने भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङदेखि चितवनसम्मका जिल्लाहरुमा ठूलो धनजनको क्षति पुर्याएको छ । सो बाढीले करिब एक दर्जन जलविद्युत कम्पनीहरुमा अर्बौ मूल्यको क्षति पुर्याएको छ । सो दावीको अधिकांश रकम भुक्तानी गर्न बाँकी नै रहेको अवस्थामा आजबाट पुनः भीषण बर्षा र बाढी पहिरोको जोखिम रहेको भन्दै सचेत रहन सरकार र मौसमविदहरुले आग्रह गरिरहेका छन् ।
एक बीमा कम्पनीका सिईओले भने, ‘हामीले ठूलो रकम भोटेकोशीमा गुमाइसकेका छौं, अब फेरि बाढी आउने चेतावनीले निर्जीवन बीमा माथि थुप्रै भार थपिने त्रासमा छौं ।’
जोखिमहरुको सही रुपमा पुनर्बीमा नगर्ने र नेपालमा बीमा व्यवसाय फुत्काउन क्यासब्याक र कमिशन दिने फोहोरी खेलका कारण नेपाली निर्जीवन बीमा कम्पनीहरुले अहिले अप्ठेरो अवस्थाको सामना गरिरहेका छन् । आजदेखि परिरहेको पानीमा उनीहरु क्षति कम होस भन्दै प्रार्थना गरेर बसिरहनु परेको छ । एक बीमा कम्पनी उच्च अधिकारीका अनुसार भोटेकोशीको बाढीमा अधिकांश निर्जीवन बीमा कम्पनीहरुले प्राकृतिक विपत्तिमा गर्नुपर्ने बीमा नगरेको, सवारी साधनहरुको सबै जोखिम आफैले धारण गरेको जस्ता समस्याहरु थिए ।
स्रोतका अनुसार बीमा शुल्कमै कमिशन दिइएको कारण पुनर्बीमामा धेरै रकम खर्च गर्न सक्ने अवस्था छैन । बीमा कम्पनीहरुले व्यवसाय हत्याउने होडमा व्यवस्थापन खर्च उच्च दरमा गर्ने र पुनर्बीमा न्यूनदरमा गर्दै आएका छन् । आजदेखि सुरु भएको बर्षा र सम्भावित बाढी पहिरोमा त्रसित भएर बस्ने कि जोखिम अनुसार बीमाको सर्वमान्य सिद्धान्त अनुसार पुनर्बीमा गराएर ढुक्क भएर बस्ने ? आगामी दिनमा दिशा निर्धारण गर्ने जिम्मा नियामक नेपाल बीमा प्राधिकरणकै होइन र ?










