आईएमई जनरल र अजोड इन्स्योरेन्ससहित पाँच संस्थालाई योग्य संस्थागत लगानीकर्ताको मान्यता

२३ जेष्ठ २०७९, सोमबार १७:०२

काठमाडौं । धितोपत्र बोर्डको योग्य संस्थागत लगानीकर्ताको सूचीमा थप पाँच कम्पनी थपिएका छन् । बोर्डले आईएमई जनरल इन्स्योरेन्स र अजोड इन्स्योरेन्ससहित पाँच संस्थालाई योग्य संस्थागत लगानीकर्ताको मान्यता दिएको हो ।

बोर्डले हालै अजोड इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स, सिभिल बैंक, आरबिबि म्युचुअल फण्ड १ र एनआईबिएल समृद्धि फण्ड २ लाई योग्य संस्थागत लगानीकर्ताको मान्यता दिएको छ । यसअघि योग्य संस्थागत लगानीकर्ताको सूचीमा ९५ वटा संस्था रहेकोमा उक्त संख्या बढेर १०० पुगेको छ ।

यसअघि नै धितोपत्रको मूल्य निर्धारण पारदर्शी तथा प्रतिस्पर्धात्मक रुपमा गरी वास्तविक क्षेत्रका कम्पनीको बजार प्रवेश प्रोत्साहित गर्न अन्तर्राष्ट्रिय रुपमा प्रचलनमा रहेको बुक बिल्डिङ्ग विधि प्रारम्भिक सार्वजनिक निष्काशनमा लागू गर्न बोर्डले बुक बिल्डिङ्ग निर्देशिका, २०७७ जारी गरिसकेको छ।

बोर्डले बुक विल्डिङ विधिबाट सार्वजनिक निष्कासन (आईपीओ) गर्ने कम्पनीको मूल्य तय गर्नको लागि योग्य संस्थागत लगानीकर्ताबाट आशय मूल्य लिनुपर्छ । बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्नको लागि सो आईपीओको मूल्य तय गर्न संस्थागत लगानीकर्ताको भूमिका रहन्छ ।

बोर्डबाट स्वीकृतिप्राप्त योग्य संस्थागत लगानीकर्ताले निष्कासनकर्ता कम्पनीको प्राविधिक, वित्तीय, व्यवस्थापन, भावी योजना तथा रणनीतिलगायत विवरणको अध्ययनका आधारमा सूसुचित तवरले धितोपत्रको आशय मूल्य पेस गर्न सक्नेछन् ।

खरिद आशय मूल्यको आधारमा धितोपत्रको बिक्री मूल्य सीमा निर्धारण गरी योग्य संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्रको ४० प्रतिशत र सर्वसाधारण लगानीकर्ताको लागि ६० प्रतिशत धितोपत्र निष्काशन गर्नु पर्नेछ।

जसले प्रारम्भिक सार्वजनिक निष्कासनको मूल्य निर्धारणमा दक्ष तथा व्यावसायिक सहभागितामार्फत धितोपत्रको उचित मूल्य निर्धारण गर्न सहयोग पुग्नुका साथै वास्तविक क्षेत्रका संगठित संस्थाको थप प्रवेश हुने अपेक्षा रहेको बोर्डले जनाएको छ ।

बुक–बिल्डिङ धितोपत्रको निष्कासन मूल्य पत्ता लगाउने विधि हो । यसमा सर्वप्रथम कुनै मूल्यांकन विधिका आधारमा धितोपत्रको वित्तीय मूल्यांकन गरिन्छ ।यो मूल्यांकन रकममा केही प्रतिशतले थपघट गरेर निष्कासन मूल्यको दायरा तोकिन्छ । सम्भावित लगानीकर्ताबाट उनीहरूले खरिद गर्न चाहेको आशय मूल्य र संख्यामा आवेदन माग गरिन्छ ।

प्राप्त आशय मूल्य र सेयर संख्याका आधारमा लगानीकर्ताले तिर्न चाहेको ‘भारित औसत मूल्य’ गणना गरिन्छ । यही मूल्य नै धितोपत्रको निष्कासन मूल्य (कट–अफ प्राइस) हुन्छ । लगानीकर्तालाई यही निष्कासन मूल्यमा समानुपातिक हिसाबले धितोपत्रको बाँडफाँट गरिन्छ ।

बुक–बिल्डिङले धितोपत्रको चुस्त मूल्य निर्धारण गर्ने भएकाले अन्तर्राष्ट्रिय अभ्यासमा यसको व्यापक प्रयोग हुन्छ । यस विधिमा लिड–अन्डरराइटरको भूमिका महत्वपूर्ण हुन्छ । धितोपत्र निष्कासन गर्ने कम्पनीले कुनै इन्भेस्टमेन्ट बैंकलाई लिड–अन्डरराइटर नियुक्ति गरेपछि बुक–बिल्डिङको प्रक्रिया सुरु हुन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*