अमेरिका–इरानबीच शान्ति सम्झौताको दाबी, मध्यपूर्वमा युद्ध अन्त्यको संकेत

काठमाडौँ । अमेरिका र इरानबीच शान्ति सम्झौता भएको दाबी गरिएको छ। पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको उक्त सम्झौतासँगै तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वमा जारी तनाव र युद्ध अन्त्यतर्फ उन्मुख भएको संकेत देखिएको बताइएको छ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले सामाजिक सञ्जाल एक्समार्फत अमेरिका र इरानबीच शान्ति सम्झौता सम्पन्न भएको जानकारी दिएका छन्। उनले सम्झौताको औपचारिक हस्ताक्षर समारोह आगामी जुन १९ मा स्विट्जरल्यान्डमा आयोजना गरिने उल्लेख गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानसँगको सम्झौता सम्पन्न भएको पुष्टि गरेको बताइएको छ। आफ्नो जन्मदिनका अवसरमा जारी वक्तव्यमा उनले हर्मुज जलडमरूमध्य जहाज आवागमनका लागि पूर्ण रूपमा खुला गरिने र अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दी तत्काल हटाइने घोषणा गरेका छन्।
ट्रम्पको घोषणापछि इरानले पनि अमेरिकासँग भएको नयाँ समझदारीले दुई देशबीचको युद्ध तत्काल अन्त्य भएको जनाएको छ। इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले राज्य सञ्चालित टेलिभिजनमार्फत लेबनानसहित सबै मोर्चामा युद्धको तत्काल र स्थायी अन्त्य घोषणा गरिएको बताएका छन्।
यसअघि तेहरानले बेरुतको उपनगरमा इरान समर्थित हिजबुल्लाहमाथि इजरायलले गरेको आक्रमणको प्रतिकार गर्ने चेतावनी दिएको थियो। उक्त घटनाले सम्भावित सम्झौतामा असर पार्न सक्ने अनुमान गरिएको थियो। तर त्यसलगत्तै प्रधानमन्त्री शरीफले सम्झौता भएको घोषणा गर्दै अमेरिका र इरानलाई द्वन्द्वको कूटनीतिक समाधान खोजेकोमा धन्यवाद दिएका छन्। उनले दुवै पक्षले लेबनानसहित सबै मोर्चामा सैन्य कारबाहीको तत्काल र स्थायी अन्त्यमा सहमति जनाएको उल्लेख गरेका छन्।












