बैंक र डिजिटल वालेटको नाममा बढ्यो एसएमएस ठगी, नेपाल टेलिकमको सतर्कता अपिल

१ असार २०८३, सोमबार १०:२६

टेलिकमका अनुसार पछिल्लो समय ‘एसएमएस’ सेवाको दुरुपयोग गर्दै कनेक्ट आईपीएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा नक्कली सन्देश पठाउने गतिविधि बढेको पाइएको छ। यस्ता सन्देशमा ग्राहकको खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य कुनै समस्या देखिएको उल्लेख गर्दै शंकास्पद लिंकमा प्रवेश गर्न प्रेरित गर्ने गरिएको कम्पनीले जनाएको छ।

नेपाल टेलिकमले यस्ता एसएमएस, फोन कल तथा लिंकप्रति सजग रहन अनुरोध गर्दै कुनै पनि लिंक प्रयोग गर्नुअघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एपमार्फत जानकारी प्रमाणित गर्न आग्रह गरेको छ। साथै व्यक्तिगत तथा गोप्य विवरण सुरक्षित राख्न समेत कम्पनीले सुझाव दिएको छ।

कम्पनीले अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्न, ओटीपी, पासवर्ड, पिन, सिभिभी लगायतका संवेदनशील जानकारी कसैसँग पनि साझेदारी नगर्न विशेष आग्रह गरेको छ। बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सूचना तथा सेवाका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुपर्नेमा टेलिकमले जोड दिएको छ।

त्यस्तै, कुनै शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित निकायलाई तत्काल जानकारी गराउन पनि कम्पनीले अनुरोध गरेको छ। ग्राहकको सुरक्षा आफ्नो प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै नेपाल टेलिकमले यस्ता भ्रामक गतिविधिबाट बच्न सबैमा आवश्यक सचेतना अपनाउन आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*