नेपालमा ९२ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स भित्रियो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २०.३ प्रतिशतले बृद्धि भएको छ । सो अवधिसम्म नेपालमा ९२ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म रेमिट्यान्स १७.४ प्रतिशतले घटेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा रेमिट्यान्स बढेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ ।
त्यस्तै सो अवधिसम्म वैदेशिक रोजगारीका लागि अन्तिम स्वकीकृति लिने नेपालीको संख्या २२२.८ प्रतिशतले बृद्धि भई ४४ हजार ५४० पुगेको छ । यस्तै, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या आउन महिनासम्म ७५.४ प्रतिशतले बृद्धि भई २० हजार ३९० पुगेको छ । अघिल्लो वर्षको यसै अवधिसम्म यस्तो संख्या २८६.१ प्रतिशतले बढेको थियो ।
त्यस्तै, यस अवधिसम्म खुद ट्रान्सफर १८.४ प्रतिशतले बृद्धि भई एक खर्ब एक अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा यस्तो ट्रान्सफर १५.७ प्रतिशतले घटेको थियो ।