अपर अरुण जलविद्युत आयोजनामा एचआइडीसीएले ५३ अर्ब लगानी गर्ने
काठमाडौं । अपर अरुण जलविद्युत आयोजनामा स्वदेशी लगानी तर्फ जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड को नेतृत्वको सह वित्तीयकरण मार्फत ५३ अर्ब १४ करोड लगानी हुने भएको छ । उक्त सम्झौतापत्रमा आज हस्ताक्षर भएको छ।हाल अर्थ मन्त्रालयको नेतृत्वमा आयोजनाको लागि ऋण लगानी जुटाउन समन्वय भईरहेको छ। आयोजनाको अध्ययनको लागि आर्थिक सहयोग गरिरहेको विश्व बैंकले आयोजना निर्माणको लागी ऋण लगानी गर्ने आशय व्यक्त गरेको छ।
नेपाल सरकारबाट जलविद्युत आयोजनाहरुमध्ये रुपान्तरणकारी आयोजनाको रुपमा घोषित अपर अरुण जलविद्युत आयोजना ९१०६१ मे.वा. नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी अपर अरुण हाइड्रो-इलेक्ट्रिक कम्पनीबाट प्रवर्धन तथा विकास भईरहेको छ।
संखुवासभा जिल्ला भोटखोला गाउँपालिकामा अवस्थित यस पिकिंग रन–अफ–रिभर आयोजनाको हाल सम्मको अध्ययन अनुसार अरुण नदीमा १८३ मी. लामो र करिव १०० मी उचाईको बाँध निर्माण गरी ८.५ किमी लामो सुरुङ्ग मार्फत पानी ल्याई छोंग्राक स्थीत भूमिगत जलबिद्युतगृहमा खसालिने छ।
हाल सम्मको अध्ययन अनुसार आयोजनाको कुल लागत निर्माण अवधिको ब्याज, मूल्यबृद्धिलगायत सहित १ अर्ब ७५ करोड अमेरिकी डलर (करिब २ खर्ब १४ अर्ब नेपाली रुपैया) रहेको छ ।सन् २०२४ को अन्त्य तिर शुरु भई सन् २०३० को अन्त्य सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको यस आयोजनाको हाल सम्भाव्यता अध्ययन कार्य सम्पन्न भई टेन्डर डिजाईन तथा निर्माण सुपरिवेक्षण कार्यको लागि परामर्शदाता छनौट गर्ने कार्य भईरहेको छ।
आयोजनाको पूर्व तयारी कार्य मध्ये आयोजनाको २१ कि.मि. लामो पहुँचमार्ग निर्माण कार्यको लागि बोलपत्रदाता छनौट गर्न प्राप्त बोलपत्रहरुको मुल्यांकन कार्य भईरहेको छ भने आयोजनाको लागि आवश्यक करिव २२५ हेक्टर जग्गाको मुआब्जा निर्धारण भई वितरण गर्ने क्रममा रहेको छ ।
आयोजनाबाट करिव २२ घरधुरी भौतिक रुपमा बिस्थापित हुनेछन भने आयोजनाको निर्माणबाट वातावरणीय तथा सामाजिक प्रभावहरु तुलनात्मक रुपमा न्यून रहेको अध्ययनबाट देखिएको छ । पहुँच मार्गको निर्माण कार्य सन् २०२३ को पुर्वधार शुरु गर्ने योजना रहेको छ ।
जलविद्युतको विकास तथा निर्माणमा नेपाली जनताको सहभागिता र स्वामित्व भाव कायम गरि आन्तरिक पुँजिबजारको माध्यमबाट प्रत्येक नेपाली नागरिकलाई जलविद्युत आयोजनाको विकास हेतु शेयर लगानी गर्ने अवसर प्रदान गर्ने र त्यसको समुचित प्रतिफल प्राप्त गर्ने अवसर तयार गर्न सरकारले यस आयोजनालाई जनताको जलविद्युत कार्यक्रम “नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको शेयरधनी मा समावेश गरिने आयोजनाले जनाएको छ ।