यस्तो छ कोरोना बीमाको दावी भुक्तानी प्रक्रिया, बीमा पुलबाट निर्णय–पिसिआर पोजेटिभ मितिलाई समेत आधार मानेर रकम भुक्तानी

१८ कार्तिक २०७९, शुक्रबार १०:३०

काठमाडौं । कोरोना बीमितलाई रकम वितरण गर्ने सम्बन्धमा नेपाल बीमक संघले आइतबार छलफल गर्ने भएको छ । कोरोना बीमितलाई तत्कालै रकम वितरण गर्न बीमा समितिले हिजो लिखित निर्देशन र रकम उपलब्ध गराएपछि नेपाल बीमक संघले रकम वितरण गर्न आइतबार बैठक बसेर छलफल गर्न लागेको हो ।

नेपाल बीमक संघका एक पदाधिकारीले थुप्रै सदस्यहरु देश बाहिर, काठमाडौं बाहिर भएकोले आइतबार बैठक बस्ने लागेको जानकारी दिए । सिंगापुरमा सम्पन्न १८ औं पुनर्बीमा सम्मेलनमा भाग लिन गएका टोलीहरु आज काठमाडौं फर्कदैछन् । त्यस्तै केही सिईओहरु राजधानी बाहिर रहेको जनाएका छन् ।

कोरोना बीमाको रकम भुक्तानीको लागि कोरोना बीमा पुललाई सक्रिय बनाइनेछ । कोरोना बीमा पुलको जिम्मेवारी शिखर इन्स्योरेन्स कम्पनीले गरेको थियो । कोरोना बीमितहरुको सबै तथ्याङ कोरोना बीमा दावी गरेको मिति तथा कोरोना पोजेटिभ भएको प्रमाणित गर्ने पिसिआर टेष्ट समेतको तथ्याङ्क बीमा पुलसँग रहेको छ ।

अब सोही पुलमा रेकर्ड भएको तथ्याङ्कको आधारमा पिसिआर पोजेटिभ भएको मिति र दावी भुक्तानी माग दावी गरेको आधारमा रकम वितरण गर्ने बारेमा अनौपचारिक छलफल भएको छ । नेपाल बीमक संघका एक सदस्यले भने, ‘सम्भवतः यही मोडलका आधारमा रकम वितरण हुन्छ ।’ बीमा समितिले रकम पठाए पनि बीमा कम्पनीहरुले तोकिएको रकम जम्मा गर्न बाँकी छ । आइतबार बस्ने छलफल पछि सबै कम्पनीहरुले रकम जम्मा गरेर वितरण सुरु हुनेछ ।

बीमा पुलबाट निर्णय गर्ने र सोही निर्णयको आधारमा कम्पनीहरुबाट रकम वितरण हुनेछ । यस पटक पारदर्शिताको लागि कोरोना बीमा पुलले निर्णय गर्दा पहिलो दावी गरेको मिति र बीमितको नाम सार्वजनिक गर्नुपर्ने सुझाव पनि उठेको छ । यसो गर्दा सो कुन मितिमा कोरोना पोजेटिभ भएको थियो ? त्यसो गर्दा प्रतिक्षा सूचिमा रहनेहरुले आफ्नो पालो आउन लागेको कुरा थाहा पाउनेछन् ।
कोरोना बीमाको शुल्क आफैले तिरेका वा व्यक्तिगत रुपमा बीमा गरेकाहरुलाई पहिलो प्राथमिकता दिन लागेको तत्काल खासै ठूलो चाप नहुने बीमा कम्पनीहरुको बुझाई छ ।

हालसम्मको तयारी अनुसार कही कतैबाट अबरोध सिर्जना भएन भने आगामी साताबाट रकम वितरण सुरु हुनेछ । नेपाल सरकारको अनुदान रकम समेत समावेश भएकोले निर्वाचन आयोगले केही समय पछि मात्रै वितरण गर्न निर्देशन दिनसक्ने समेत सम्भावना रहेको छ । यदि त्यस्तो अवस्थामा निर्वाचन लगत्तै मंसिरको दोस्रोसाताबाट कोरोना बीमाको रकम वितरण हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*