फर्जी निर्यातका लागि अर्बौ रुपैयाँ अनुदान, सिमेन्ट र डण्डी उद्योगद्धारा सेटिङमा भारततर्फ निर्यात

४ पुष २०७९, सोमबार ०९:३४

काठमाडौं । नेपालबाट भारततर्फ सिमेन्ट र डण्डी निर्यात भएको भन्दै कीर्ते कागजात तयार गरी अनुदान हात पार्ने गिरोह सक्रिय भएको छ । अर्थमन्त्री जनार्दन शर्माले उद्योगी व्यवसायीहरुलाई प्रोत्साहन गर्न भन्दा पनि कीर्ते धन्दामार्फत उद्योगीलाई ८ प्रतिशत वैधानिक रुपमा रकम उपलब्ध गराउन ल्याइएको अनुदान सम्बन्धी व्यवस्थाले अर्थतन्त्र थप धरासायी बन्ने देखिएको छ ।

यसै त धरासायी बन्दै गएको अर्थतन्त्रमा हुँदा हुँदा अव व्यवसायीहरुलाई निर्यात अनुदानको नाममा अर्बौ रुपैयाँ दिनुपर्ने गरी राज्यकोषमा भार थोपर्न उद्यत भएका छन् । नेपालबाट भारततर्फ निर्यात गर्ने सिमेन्ट र डण्डी उद्योगीहरुलाई सरकारले प्रोत्साहनको नाममा करोडौं रुपैयाँ दिन लागेको छ । एकातिर दर्ता गर्दा ठूला, १०० जनाभन्दा बढिलाई रोजगारी दिएको, उद्योग स्थापना गरेको १० वर्षसम्म कर छुट जस्ता विभिन्न स्कीममार्फत राजश्व नतिरी आफै खाँदै आएका उद्योगीहरुलाई मन्त्री शर्माकै सेटिङमा करोडौं रुपैयाँ प्रोत्साहन दिने कार्यविधि सुरु गरिएको छ ।

भ्रष्टाचार, सेटिङमा उद्योग व्यवसायीसँग नाम जोडिएका मन्त्री शर्माले आफ्नो १६ महिने कार्यकालमा देशको अर्थतन्त्र ध्वस्त त बनाए नै जाँदा जाँदै सिमेन्ट र डण्डी निर्यातकर्तालाई समेत अनुदान दिने गरी बजेटमा समावेश गरिएको बिषयलाई समेत कार्यान्वयनमा ल्याएर मात्रै पद छोड्ने तयारी गरेका छन् । मन्त्री शर्माको निर्देशन बमोजिम नेपाल राष्ट्र बैंकले समेत अनुदान सम्बन्धी व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिइसकेको छ ।

के हो निर्यात अनुदान ?

सरकारले चालु आवको बजेट बक्तव्यमा सिमेन्ट र डण्डीको निर्यात गर्दा उद्योगीहरुलाई ८ प्रतिशतसम्म अनुदान दिने घोषणा गरेको थियो । सो कार्य देशको उत्पादन बृद्धि र रोजगारी बृद्धिको लागि सहयोग पुग्ने उद्देश्यले सरकारले अघि सारेको हो । तर, अर्थतन्त्रबारे राम्रो जानकार नभएका अर्थमन्त्री शर्माको यो हेर्दा राम्रो, चित्ताकर्षक नाराभित्र गम्भिर घोटाला र ठूला घरानियाका व्यापारीहरुलाई करोडौं लाभ हुने माध्यम भन्ने कुरा चाल समेत नपाएको हुनसक्छन् ? डण्डी भारतबाटै कच्चा पदार्थ आयात गरेर उत्पादन हुने बस्तु हो । यसलेबापत राज्यलाई १३ प्रतिशत भ्याट बाहेक खासै आम्दानी छैन । तर, सोही बस्तु निर्यात गर्दा अनुदान दिइने भएकोले सरकारले ल्याएको यो अनुदान भ्याट छुटको भित्री खेल भन्दा अन्यथा हुन सक्दैन ।

साँच्चैको निर्यात कि कीर्ते निर्यात ?
अहिले सरकारले अनुदान दिन लागेको सिमेन्ट र डण्डीमा भारतले ३० प्रतिशत जिएसटी कर लिन्छ । नेपालको तुलनामा भारतमा सिमेन्ट र डण्डी सस्तो छ । त्यसमाथि ३० प्रतिशत जिएसटी थप गर्दा भारतीय मूल्यको तुलनामा नेपाली सिमेन्ट र डण्डीको मूल्य कम्तीमा ३५ प्रतिशतले बढि हुन जान्छ । प्रतिस्पर्धी बजारमा ३५ प्रतिशत बढि मूल्य तिरेर नेपाली उत्पादन भारतमा लगेर बिक्री गर्ने र हुने कुरा सरासर कीर्ते झूठभन्दा अरु केही होइन ।

एउटा के कुरा सत्य हो भने भारतमा ओपिसी सिमेन्ट उत्पादन नहुने भएकोले कसै कसैले महंगो नै तिरेर भएपनि ओपिसी सिमेन्ट भने खरिद गर्न सक्दछन् । तर, ३५ प्रतिशत महंगो तिरेर खरिद गर्ने निकै कम मात्रै हने हुँदा सिमेन्टको वैज्ञानिक निर्यात थोरै मात्रै हुनेछ । डण्डीको सन्दर्भमा कुरा गर्दा नेपालमा भारत भारतीय डण्डी नै गुणस्तरीय हुने हुँदा ३५ प्रतिशत भन्दा बढि महंगो तिरेर नेपाली डण्डी खोज्नुपर्ने कुनै कारण छैन ।

राज्यकोषको दोहन गर्न नीतिगत भ्रष्टाचार
सिमेन्ट र डण्डीको निर्यातका लागि पहल गर्ने,आवाज उठाउनेहरु जो जो छन् । ति सबै जानेर वा नजानेर यस नीतिग भ्रष्टाचारमा संलग्न छन् । नेपाली सिमेन्ट मध्ये कतिपयले भारतबाटै क्लीङ्कर आयात गर्दै आएका छन् । त्यस्तै डण्डीमा शत प्रतिशत कच्चा पदार्थ भारतबाटै आउँछ । उनीहरुले भन्सारमा भ्याट तिरेका हुन्छन् । पुनः बिक्री गर्दा भ्याट लिएरै बिक्री गरेका हुन्छन् । बिक्री गर्दा कच्चा पदार्थको लागि तिरेको भ्याट केही प्रतिशत बाहेक फिर्ता आउँछ । अब भारततर्फ निकासी गरेको देखाउन पाएमा थप ८ प्रतिशत प्रोत्साहन अनुदान आउने हुँदा व्यवसायीहरु यसतर्फ आकर्षित भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*