कोरोना बीमाको एक अर्ब रुपैयाँ दाबी भुक्तानी, दाबी प्रमाणित हुन नसक्दा दुई हजार जनाको झण्डै साढे २३ करोड रुपैयाँ अस्वीकृत

२८ पुष २०७९, बिहीबार ११:०२

काठमाडौं । लामो सकस पछि निर्जिवन बीमा कम्पनीहरुले १ अर्ब १२ करोड रुपैयाँ कोरोना बीमाको रकम दाबी भुक्तानी गर्न सफल भएको छ।निर्जीवन बीमा कम्पनीहरूले १३ हजार एक सय ९९ वटा कोरोना बीमाको एक अर्ब १२ करोड ४९ हजार दाबी रकम भुक्तानी गरिसकेका छन् । कोरोना बीम दाबी भुक्तानीका लागि अर्थ मन्त्रालयले एक अर्ब निकासा गरेको थियो ।

निर्जीवन बीमा कम्पनीमा परेको व्यक्तिगत कोरोना बीमा दाबीमध्ये दुई हजार सात सय ४९ वटा अस्वीकृत भएका छन् । दाबी प्रमाणित हुन नसक्दा सो संख्या दाबीबापत २३ करोड २३ हजार भुक्तानी गर्नुनपर्ने भएको नेपाल बिमक संघले जनाएको छ। बीमक संघले कागजात नपुगेका बीमितहरुलाई आवश्यक थप विवरण भर्न समेत माग गरेको थियो ।

नेपाल बीमा प्राधिकरणको निर्देशनअनुसार कम्पनीहरूले सरकारले पहिलो चरणमा निकासा गरेको रकम भन्दै १३ मंसिरदेखि भुक्तानी सुरु गरेका हुन् ।पहिलो चरणमा कम्पनीहरूले व्यक्तिगत कोरोना बीमा रकम भुक्तानी गर्न मन्त्रालयले निर्देशन दिएको थियो । सोहीबमोजिम १५ हजार नौ सय ४८ वटा व्यक्तिगत कोरोना बीमा दाबी रकम भुक्तानीका लागि छनोट गरिएका थिए । कम्पनीहरूले सो संख्याको बीमा दाबीबापत एक अर्ब ३५ करोड भुक्तानी गर्ने जनाएको थियो ।

अर्थ मन्त्रालयले रकम निकासा गरेपछि कम्पनीहरूले व्यक्तिगत दाबी गर्नेमध्ये पहिलोलाई प्राथमिकतामा राखी भुक्तानी सुरु गरेका थिए । भुक्तानीका लागि कम्पनीले आफ्नो वेबसाइटमा नै नामावली सार्वजनिक गरेको थियो ।

संघले पहिलो चरणमा छुट्याएको दाबी संख्या र रकममध्ये तीनवटा कम्पनीले सबै रकम भुक्तानी गरिसकेका छन् । सगरमाथा इन्स्योरेन्स, हिमालयन एभरेष्ट र एनएलजी इन्स्योरेन्सले विनियोजन गरिएको दाबी भुक्तानी गरिसकेका छन् ।
पहिलो चरणमा सगरमाथा इन्स्योरेन्सले एक हजार पाँच सय ४२ वटा दाबीबापत १३ करोड ९६ लाख भुक्तानी गरिसकेको छ ।

हिमालय जनरल इन्स्योरेन्स कम्पनीले एक हजार एक सय ४४ दाबीबापत १० करोड ७३ लाख र एनएलजी इन्स्योरेन्सले दुई सय ३७ वटा दाबीबापत दुई करोड २७ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ ।
संघको तथ्यांकअनुसार शिखर इन्स्योरेन्सले दुई हजार दुई सय २१ वटा दाबीबापत २१ करोड २६ लाख रुपैयाँ भुक्तानी गरिसकेको संघको तथ्यांकमा छ ।

कम्पनीले अझै चार सय १४ वटा दाबी भुक्तानी गर्न बाँकी छ । नेको इन्स्योरेन्सले एक हजार दुई सय ५६ वटा दाबीबापत १२ करोड ४२ लाख रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले अझै दुई सय ४९ वटा दाबी भुक्तानी गर्न बाँकी छ । बिमा
सिद्धार्थ इन्स्योरेन्स सबैभन्दा कम दाबीको भुक्तानी गरेको छ । कम्पनीले हालसम्म चार सय ८५ वटा दाबीबापत चार करोड ५० लाख रुपैयाँ भुक्तानी गरेको छ । तर, कम्पनीले अझै तीन सय ११ वटा दाबीबापत तीन करोड ६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । राष्ट्रिय बिमा कम्पनीले एक हजार पाँच सय ४२ वटा दाबीको भुक्तानी गरेको छ भने तीन सय २१ वटा दाबीको भुक्तानी गर्न बाँकी छ ।

त्यस्तै, अजोड इन्स्योरेन्सले ४७ वटा दाबीबापत सात करोड ९८ लाख रुपैयाँ भुक्तानी गरेको छ भने चार सय ५१ वटा दाबीको भुक्तानी हुन बाँकी छ । जनरल इन्स्योरेन्सले पनि दुई सय ४९ वटा दाबीको भुक्तानी गरेको छ, तर चार सय ९३ दाबीको अझै भुक्तानी हुन सकेको छैन ।

प्राधिकरणले पहिलो चरणको भुक्तानीका लागि सरकारले भुक्तानी गरेको एक अर्बलाई ५५ प्रतिशत मानी नेपाल पुनर्बिमा कम्पनीको भागमा १२ प्रतिशत, बीमा कम्पनीहरूको भागमा २५ र आफ्नो भागमा ८ प्रतिशत रकम विभाजन गरेको थियो । प्राधिकरणले आफ्नो हिस्साको १४ करोड ५४ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ । नेपाल पुनर्बिमा कम्पनीको हिस्सामा २१ करोड ८१ लाख रुपैयाँ परेको छ भने निर्जीवन बिमा कम्पनीहरूको हिस्सामा भने ४५ करोड ४५ लाख रुपैयाँ परेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*