उत्पादन लागत बढ्दा व्यवसाय टिक्नै नसक्ने अवस्था छः अध्यक्ष शेखर गोल्छा

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उत्पादन लागत बढ्दा व्यवसाय टिक्नै नसक्ने अवस्था रहेको बताएका छन् ।नेपाल उद्योग बाणिज्य महासंघको ५७ औं बार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा स्वागत मन्तब्य राख्दै उनले उत्पादन लागत बढ्दा व्यवसाय टिक्नै नसक्ने अवस्थामा पुगेको बताएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख अतिथि रहेको कार्यक्रममा अध्यक्ष गोल्छाले ‘ सरकार चल्ने पैसा निजी क्षेत्र र सर्वसाधारणको उपक्रमबाट जुट्छ भनेर मनन गर्न जरुरी छ।’ उनले पछिल्लो दिन सरकार पनि राजस्व नउठेर समस्यामा परेको र आन्तरिक ऋण उठाएर तलब ख्वाउनु परिरहेको बताए।
उनले निजी क्षेत्रलाई सरकारबिरुद्धको आन्दोलमा जाने वाध्यता नपरोस् भन्दै सरकारसँग समुन्नतिका लागि सहकार्य होस् भन्ने धारणा कार्यक्रममा राखे । सरकारले निजी क्षेत्र बिना विकास संभव नभएको’ भनेर बारम्बार भने पनि ब्यवहारमा त्यो नदेखिएको बताए।
अध्यक्ष गोल्छाले राज्य चलाउने पैसा निजी क्षेत्र र सर्वसाधारणको उपक्रमबाट आउँछ भनेर सरकारी कर्मचारीले बुझ्न जरुरी रहेको बताए। ‘त्यो बुझेर सरकारी कर्मचारीले छिटोछरितो काम गरिदिनु पर्छ’ उनले भने, ‘त्यसले काम गर्न मनोबल बढ्छ।’
साथै उनले कार्यक्रमा अस्थिर ब्याजदरको कारण ब्यवसायीलाई अप्ठेरो परेको गुनासो सुनाएका थिए ।सरकारको चालु खर्च धान्नका लागि निजी क्षेत्रलाई निचोर्ने काम गरिरहेको भन्दै उनले आर्थिक गतिविधी बढाएर राजस्वमा सुधार गर्न आग्रह गरेका छन्।
उनले अहिले महासंघ अर्थतन्त्र जोगाउने अभियानमा रहेको भन्दै विगतमा सबै पक्षले गरेको गल्तिका कारण अर्थतन्त्र समस्यामा परेको बताए। अब सबै मिलेर समाधानका लागि काम गर्न पनि उनले आग्रह गरे।
डेढ बर्ष अगाडिको तुलनामा आन्तरिक उत्पादन ५० प्रतिशत घटेको, आर्थिक गतिविधि सुस्त भएको, तरलता र ब्याज दरको समस्या उत्पन्न भएको बताए।
उनले अब सरकार र राष्ट्र बैंकले तरलता ब्यवस्थापन र ब्याज दर घटाउनका लागि सबै उपाय गर्नु पर्ने बताए। ‘बैंकहरुले पनि बुझ्न जरुरी छ उद्यम चलेन भने बैंक पनि अप्ठेरोमा पर्छ,’ उनले भने।
अध्यक्ष गोल्छाको कार्यकाल सकिँदैछ। भब्य उद्घाटन कार्यक्रममा अर्थमन्त्रालय देखि राष्ट्र बैंकका पदाधिकारीहरुको समेत उपस्थिती रहेको छ ।











