अपर अरुण जलविद्युतमा लगानी गर्न विश्व बैंक तयार

१७ असार २०८०, आईतवार १४:३७

काठमाडौं । प्रस्तावित राष्ट्रिय गौरवको १,०६१ मेगावाटको अपर अरुण जलविद्युत् आयोजनामा लगानी जुट्ने निश्चित भएको छ । विश्व बैंकले एक अर्ब डलर ऋण उपलब्ध गराउने प्रतिबद्धता गरेसँगै अर्धजलाशय उक्त जलविद्युत् आयोजनामा लगानी पाउने निश्चित भएको हो ।

संखुवासभामा बन्ने उक्त आयोजनामा एक अर्ब ८० करोड डलर (दुई खर्ब ३६ अर्ब रुपैयाँ) लगानी अनुमान गरिएको छ । यो आयोजनामा मिश्रित लगानी (स्वदेशी र विदेशी) मा बनाइँदै छ । त्यसमा यसअघि नै स्वदेशी वित्तीय संस्थाहरुले ५३ अर्ब ३४ करोड रुपैयाँ ऋण लगानी गर्ने गरी समझदारी भैसकेको छ । गत भदौमा जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडको नेतृत्वमा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र नागरिक लगानी कोषले उक्त आयोजनामा ऋण लगानी गर्न प्रवद्र्धक कम्पनी अपर अरुण हाइड्रोपावर लिमिटेड र नेपाल विद्युत् प्राधिकरणसँग समझदारी गरिसकेका छन् ।

त्यस्तै, विश्व बैंकले एक खर्ब ३१ अर्ब सहुलियत ऋण दिने गरी अर्थ मन्त्रालयसँग प्रतिबद्धता गरेको छ । अर्थ मन्त्रालयले गत २५ जेठमा उक्त आयोजनामा लगानी गर्न इच्छुक विश्व बैंकलगायतका विदेशी दातृ निकायसँग छलफल गरेको थियो । त्यसलगत्तै विश्व बैंक आफैँले ५० करोड डलर (६५ अर्ब ५५ करोड नेपाली रुपैयाँ) सहुलियत ऋण दिने प्रतिबद्धता गरेको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले बताए । स्रोतका अनुसार विश्व बैंकले सोहीबराबरको थप सहुलियत ऋण पनि अन्य दातृ निकायबाट जुटाइदिने प्रतिबद्धता गरेको छ । योसँगै आयोजनाले लगानी पाउने पक्का भएको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

विश्व बैंकले थप ५० करोड डलर जुटाएपछि सहवित्तीयकरण मोडेलमा एक अर्ब डलरबराबरको ऋण सम्झौता हुने उनको भनाई छ । उक्त आयोजनामा विश्व बैंकले अन्य दातृ निकायसँगैको सहकार्यमा ९७ अर्ब डलर ऋण दिने आश्वासन दिएको थियो । तर, त्यो पक्का भएको थिएन । अहिले आएर भने विश्व बैंकले एक खर्ब ३१ अर्ब रुपैयाँ नै ऋण उपलब्ध गराउने देखिएको हो ।
प्राधिकरणले सहायक कम्पनी स्थापना गरेर यो आयोजना विकासको काम गरिरहेको छ । अबको एक बर्षमा स्वदेशी र विदेशी दातृ निकायसँग संयुक्त रुपमा ऋण लगानी सम्झौता गर्ने प्राधिकरणको योजना छ ।

संखुवासभामा बन्ने उक्त आयोजनामा एक अर्ब ८० करोड डलर (दुई खर्ब ३६ अर्ब रुपैयाँ) लगानी अनुमान गरिएको छ । त्यसमा ७० प्रतिशत लगानी भने ऋणमार्फत जुटाइनेछ । कुल ऋण रकममध्ये ५३ अर्ब ३४ करोड स्वदेशी लगानी हुने पक्का भइसकेको छ । बाँकी भने विदेशी ऋण ल्याइनेछ । कुल लागतको ३० प्रतिशत रकम भने कम्पनीले स्वपुँजीमार्फत गर्नेछ । स्वपुँजीको ४९ प्रतिशत रकम नेपालको पानी जनताको लगानी कार्यक्रमअनुसार सर्वसाधारणमार्फत उठाइनेछ । बाँकी ५१ प्रतिशत प्रवद्र्धक कम्पनीले लगानी गर्नेछ ।
सन् २०३० भित्रै यो परियोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । परियोजनाको निर्माणका लागि गर्नुपर्ने पूर्वतयारीका जग्गा अधिग्रहन, रुख कटानलगायतका धेरैजसो कामहरु सम्पन्न भइसकेका छन् । सन् २०२४ बाटै परियोजना निर्माणको काम सुरु गर्ने गरी काम अगाडि बढिरहेको छ । आयोजना बनाउन झन्डै छ वर्ष लाग्ने अनुमान छ । सोहीअनुसार सन् २०३० भित्र आयोजनाको निर्माण सम्पन्न हुने बताइएको छ ।
पिकिङ रन अफ रिभरको उक्त आयोजनाको अरुण नदीमा एक सय ८३ मिटर लामो र करिब सय मिटर उचाइको बाँध निर्माण गरिनेछ । त्यहाँको पानीलाई ८.५ किलोमिटर लामो सुरुङमार्फत छोंग्राकस्थित भूमिगत जलविद्युत्गृहमा खसालिनेछ । उक्त आयोजनाबाट वार्षिक चार अर्ब ५१ करोड युनिट विद्युत् उत्पादन हुनेछ । त्यो विद्युतलाई पावरहाउसबाट करिब छ किमि लामो, चार सय केभी डबल सर्किटको प्रसारण लाइन निर्माण गरी हाइटार संखुवासभास्थित सबस्टेसनमा जोडिनेछ । यस आयोजनाले कुल गार्हस्थ उत्पादन (जिडिपी) मा ०.५ प्रतिशत योगदान गर्ने अनुमान छ ।
यस आयोजनामा ५३ अर्ब ३४ करोड स्वदेशी ऋणका लागि समझदारी भइसकेको छ, त्यसमा थप एक खर्ब ३१ अर्ब ऋण दिलाइदिने विश्व बैंकले प्रतिबद्धता गरेकोमा उक्त बैंक आफैँले पनि ६५ अर्ब ५५ करोड लगानी गर्ने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*