कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन नेपाल मेडिकल काउन्सिलको निर्देशन

काठमाडौं । नेपाल मेडिकल काउन्सिल ले कानुनविपरीत नामको अगाडि ‘डाक्टर’ (डा) शब्द प्रयोग गर्ने स्वास्थ्यकर्मी तथा व्यक्तिलाई १५ दिनभित्र उक्त उपाधि हटाउन निर्देशन दिएको छ ।
काउन्सिलका निमित्त रजिष्ट्रार डा. दीपेन्द्र पाण्डे ले शुक्रबार जारी सूचनामार्फत विभिन्न विधाका स्वास्थ्यकर्मी तथा व्यक्तिहरूले नियमविपरीत रूपमा नामको अगाडि ‘डाक्टर’ शब्द प्रयोग गरिरहेको पाइएकाले त्यस्तो कार्य तत्काल रोक्न आग्रह गरेका हुन् ।
काउन्सिलका अनुसार नेपालमा आधुनिक चिकित्सा प्रणालीअन्तर्गत बिरामीको उपचार गर्ने, परामर्श दिने तथा नामको अगाडि ‘डाक्टर/चिकित्सक’ पद प्रयोग गर्ने कानुनी अधिकार नेपाल मेडिकल काउन्सिल मा दर्ता भएका चिकित्सकलाई मात्रै छ । काउन्सिलले आफ्नो विधागत परिषद् ऐनद्वारा चिकित्सक उपाधि प्राप्त गरेकाबाहेक अन्य परिषद्मा दर्ता भएका वा नभएका कुनै पनि स्वास्थ्यकर्मी तथा व्यक्तिले नामको अगाडि ‘डाक्टर’ शब्द प्रयोग गर्न नपाइने स्पष्ट पारेको छ ।
काउन्सिलले आधिकारिक कागजपत्र, प्रेस्क्रिप्सन प्याड, क्लिनिकका साइनबोर्ड, भिजिटिङ कार्ड तथा सामाजिक सञ्जाललगायत सबै माध्यमबाट अवैध रूपमा प्रयोग गरिएको ‘डाक्टर’ शब्द तत्काल हटाउन निर्देशन दिएको छ ।
सूचनामा काउन्सिलमा दर्ता भएका चिकित्सकबाहेक अन्य व्यक्तिले ‘डाक्टर’ उपाधि प्रयोग गरी आधुनिक चिकित्साको भ्रम सिर्जना गरेमा वा आधुनिक औषधि सिफारिस गरेको पाइएमा नेपाल मेडिकल काउन्सिल को ऐनअनुसार तीन वर्षसम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने उल्लेख गरिएको छ ।
काउन्सिलले स्वदेश वा विदेशका विश्वविद्यालयबाट प्रमाणपत्रमा ‘डाक्टर’ शब्द उल्लेख भएको शैक्षिक उपाधि प्राप्त गरेकै आधारमा स्वतन्त्र रूपमा चिकित्सकीय अभ्यास गर्ने अनुमति स्वतः प्राप्त नहुने पनि स्पष्ट पारेको छ ।












