सूर्यदर्शन सहकारी प्रकरणमा रवि लामिछानेसहितको मुद्दा सहकारी ठगीमा सीमित गर्न अदालतको आदेश

८ जेष्ठ २०८३, शुक्रबार १८:१८

काठमाडौँ । कास्की जिल्ला अदालतले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा दर्ता भएको मुद्दामा रवि लामिछानेसहितका प्रतिवादीविरुद्ध लगाइएको ‘संगठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’ सम्बन्धी अभियोग हटाउन सरकारलाई अनुमति दिएको छ । न्यायाधीश हिमलाल बेल्बासेको इजलासले अभियोगपत्र संशोधन गर्दै अब मुद्दालाई केवल ‘सहकारी ठगी’ को अभियोगमा मात्र अघि बढाउन आदेश दिएको हो ।

गोविन्द अधिकारीको जाहेरीमा नेपाल सरकार वादी रहेको उक्त मुद्दामा गितेन्द्रबाबु (जीबी) राई, छविलाल जोशी र रवि लामिछाने सहितका व्यक्तिहरू प्रतिवादी छन् । जिल्ला सरकारी वकील कार्यालय, कास्कीले अभियोगपत्र संशोधनको माग गर्दै अदालतमा दिएको निवेदनमा प्रारम्भिक रूपमा लगाइएका गम्भीर अभियोगहरू हटाएर सहकारी ठगीको मात्र मुद्दा अघि बढाउने प्रस्ताव गरेको थियो ।

अदालतले पीडित बचतकर्ताको रकम छिटो र सहज रूपमा फिर्ता गराउनु यस मुद्दाको मुख्य उद्देश्य भएको उल्लेख गरेको छ । आदेशमा भनिएको छ, ‘पीडित जाहेरवालाहरूको बचत रकम सहज र शीघ्र फिर्ता दिलाउनु नै न्यायिक निरूपणको मूल विषयवस्तु रहेको र जाहेरवालाहरूले पनि सोही माग गरेको देखिन्छ ।’

अदालतले संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग कायम रहँदा प्रतिवादी र जाहेरवालाबीच मिलापत्र तथा रकम फिर्ता प्रक्रिया थप जटिल र समय लाग्ने देखिएकाले अभियोगपत्र संशोधन गर्न अनुमति दिएको उल्लेख गरेको छ । यसअघि रवि लामिछानेको हकमा मात्र लागू गरिएको यस्तो निर्णय अब अन्य प्रतिवादीहरूको हकमा पनि लागू हुने गरी त्रुटि सच्याइएको आदेशमा उल्लेख छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*