ग्लोबल आइएमई बैंकका सिईओसहितका उच्च अधिकारीविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दर्ता

काठमाडौं । ग्लोबल आईएमई बैंकका सिईओ सुरेन्द्रराज रेग्मी, डेपुटी सिईओ सुमन पोखरेलसहितका चार उच्च अधिकारीका विरुद्धमा इलाका प्रहरी कार्यालय दमक झापामा आत्महत्या दुरुत्साहनको आरोपमा जाहेरी दर्ता भएको छ । बैंकका शाखा प्रमुख पिताम्वर खड्काका परिवारका सदस्यले बैंकका सिईओ रेग्मीसहितका उच्च व्यवस्थापकहरुका विरुद्धमा आत्महत्या दुरुत्साहनको मुद्दा चलाउन माग गर्दै लिखित जाहेरी दर्ता गराएको हो ।
पीडित पक्षले सिईओ रेग्मी, डेपुटी सिईओ पोखरेलका अलावा एसिईओ दिपचन्द्र रेग्मी र मानव संशाधन विभागकी प्रमुख अनामिका सिंहलाई विपक्षी बनाई जाहेरी दर्ता गराएको हो । पीडित पक्षको जाहेरीलाई हाल झापा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
बैंकका सिईओ रेग्मीसहितका व्यवस्थापकहरुको उच्च दवावपछि शाखा प्रमुख खड्काले यही जेठ ४ गते आत्महत्या गर्न बाध्य भएको भन्दै सन्देश सामाजिक सञ्जाल फेसबुकमा फोटो समेत पोष्ट गरेर झण्डिएका थिए । स्रोतका अनुसार खड्कालाई बैंक प्रशासनले तीन महिनाअघि राजिनामा गर्न बाध्य पारेको थियो । जेठ ४ गते ठीक तीन महिना पुरा भई राजिनामा स्वीकृत भएको म्यासेज शाखा प्रमुख खड्कको मोबाइलमा पठाएको थियो । सो म्यासेज पठाएको केही घण्टाभित्रैमा खड्काले आत्महत्या गरेका थिए ।

मृतक खड्काका परिवारले जेठ ५ गते नै जाहेरी दर्ता गराइसकेको छ । तर, प्रहरीले छानविन अघि बढाउन आनाकानी गरिरहेको पीडित पक्षको भनाई छ । आत्महत्या दुरुत्साहनका अन्य घटनामा यसअघि आरोपीहरुलाई पक्राउ गरेर छानविन गर्ने गरिएको भएपनि ग्लोबल आईएमई बैंक काण्डमा भने प्रहरीले त्यसो गरेको छैन । अर्थात घटनाको पाँचौं दिनसम्म पनि उन्मुक्ति दिइरहेको छ । जसबाट पीडक पक्षले पीडित पक्ष र प्रहरी प्रशासनलाई प्रभावमा पार्न भरमग्दुर मौका पाइरहेको छ ।
२०७६ सालमा न्यूज २४ टिभीमा कार्यक्रम प्रस्तोता रहेका बेला शालिकराम पुडासैनीले चितवन पुगेर आत्महत्या गरेका थिए । पत्रकार पुडासैनीले यसैगरी लामिछानको नाम लिएर झुण्डिएर आत्महत्या गरेका कारण प्रहरीले वर्तमान राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र युवराज कँडेललाई २०७६ साल साउन ३० गते पक्राउ गरी हिराशतमै राखेर अनुसन्धान गरिएको थियो । रवि लामिछाने र कँडेलका विरुद्धमा पाँच बर्ष कैद र ५० हजार रुपैयाँ जरिवना माग गर्दै मुद्दा दायर गरेको थियो ।
बैंकका सिईओ रेग्मी, डेपुटी सिईओसहितका कर्मचारीहरुका विरुद्धमा प्रहरीले गहन छानविन गरी दोषी देखिएमा कडा कारवाही हुनुपर्ने पीडित पक्षको माग छ ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी खगेन्द्र बहादुर खड्काले पीडितको जाहेरी परेको पुष्टी गर्दै अनुसन्धान भइरहेको बताए । डिएसपी खड्काले प्रहरीले विधि र कानुनी प्रक्रिया अनुसार तीव्र गतिमा अनुसन्धान भइरहेको बताए ।
ग्लोबल आइएमई बैंकका सीईओसहित चार उच्च अधिकारीलाई देखाउँदै ब्रान्च म्यानेजरले गरे आत्महत्या












