न्यायालयले सच्यायो राष्ट्रपतिबाट भएको अपराध, रिगलको आममाफी बदर

१६ कार्तिक २०८०, बिहीबार १६:०१

काठमाडौं । जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगललाई आममाफी दिने सरकार र राष्ट्रपतिको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसको अवसर पारेर राष्ट्रपतिबाट कैद सजाय मिनाहा गर्ने सकारको निर्णय बदरको आदेश दिएको हो । सर्वोच्चको यो आदेशलाई अधिकांशले सरकार र राष्ट्रपतिबाट भएको अक्षम्य अपराध न्यायालयले सच्याएको रुपमा अर्थ्याएका छन् ।

आदेशमा रिगललाई बाँकी कैद माफी दिने सरकारको निर्णय ‘अपराध पीडितको हक प्रतिकुल रहेको’ भनिएको छ । आफ्ना श्रीमान चेतन मानन्धरका हत्याराको कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद र मन्त्रिपरिषदको सिफारिस अनुसार कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय खारेजीको माग गर्दै भारती मानन्धरले सर्वोच्च अदालतमा रिट हालेकी थिईन् ।

त्यसै रिटको सुनुवाईमा सर्वोच्ले कैद सजाय मिनाहाको निर्णय बदर हुने आदेश सुनायो । सरकारको निर्णयविरुद्ध भारती १७ असोजदेखि अनशन समेत बसेकी थिईन् । दशैंका बेला स्थगित अनशन उनले फेरि सुरु गरेकामा बिहीबार सर्वोच्चले यस्तो आदेश दिएको हो । कार्तिक १३ गते अनशन स्थलमै बेहोस भएपछि यो मुद्दामा थप चासो बढेको थियो ।

नेपालगञ्ज बजारमा खुँडा हानेर २०७२ असार २८ मा चेतन मानन्धरको हत्या गरेको अभियोगमा रिगल जन्मकैदको सजाय काटिरहेका थिए । उनीसहित चार जनालाई जन्मकैद, एकजनालाई १० र अर्का एकलाई पाँच वर्ष कैद अनि अन्य सात जनालाई तीन–तीन वर्षको कैद सजाय भएको थियो।

रिगलको कैद सजाय राष्ट्रपतिले ६० प्रतिशत मिनाहा गरेपछि उनी जेलबाट छुटेका हुन्। सरकारले असल चालचलनको विशेषण दिएर उनको ६० प्रतिशत कैद मिनाहाको सिफारिस राष्ट्रपति समक्ष गरेपछि उनी संविधान दिवसको अघिल्लो दिन जिल्ला कारागार, दाङबाट छुटेका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*