ठेकेदारसँग मिलेर भ्रष्टाचार गर्ने तत्कालीन नगर प्रमुखसहित ४ जनाविरुद्ध मुद्दा

१६ कार्तिक २०८०, बिहीबार १७:०४

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिकाका तत्कालीन नगरप्रमुख रामचन्द्र चौधरीसहित चार जनाविरुद्ध अख्तियारले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

चन्द्रपुर नगरपालिकाका तत्कालीन नगरप्रमुख चौधरीसहितका आरोपीहरुले आशिक कन्स्ट्रक्सनसँगको मिलेमतोमा अनियमित ढंगले चाँदी नदीबाट नदीजन्य पदार्थ उत्खनन गरी राजस्व छली गरेको ठहर गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

चाँदी नदीको नदीजन्य पदार्थ विक्री सम्बन्धी सम्झौता गर्दा तोकिएको नगद तथा बैंक जमानत पेश नगरी मूल्य अभिबृद्धि कर (भ्याट)समेत दाखिला नगरी सत्र लाख अठ्सठ्ठी हजार रुपैयाँ बराबरको घटी राजस्व रकम असुल गरेर भ्रष्टाचार गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

आरोपीहरुले मापदण्ड विपरित अवैध रुपमा ३७ लाख ३४ हजार रकम बराबरको नदीजन्य पदार्थ उत्खनन गरी नगरपालिकालाई उक्त रकम बराबर राजस्वमा हानी पुर्याई ५५ लाख २ हजार बराबरको राजस्व चुहावट गरेको अख्तियारले दाबी गरेको छ ।

अख्तियारले तत्कानीन प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सिग्देल, लेखा अधिकृत(राजस्व शाखा प्रमुख) किर्तिराज सुवेदी, आंशिक कन्स्ट्र्क्सनका सञ्चालक राम विनोद राउत बरैलाई ५५ लाख २ हजार २९८ रुपैयाँ र तत्कालीन नगर प्रमुख रामचन्द्र चौधरीलाई ३७ लाख ३४ हजार २९८ रुपैयाँ बराबर बिगो कायम गरी बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*