लिबर्टी माइक्रो लाइफको औपचारिक रुपमा कारोबार शुभारम्भ, नाफामा भन्दा सेवामा ध्यान दिन बीमा विज्ञ घिमिरेको सुझाव

काठमाडौं । बीमा क्षेत्रका विज्ञ डाक्टर रबिन्द्र घिमिरेले लघुबीमा व्यवसायलाई नाफाभन्दा पनि सेवा मुलुक बनाउन सुझाव दिएका छन् । पोखरामा लिबर्टी माइक्रो लाइफले कारोबार शुभारम्भ गर्न आयोजना गरेको कार्यक्राममा उनले यस्तो सुझाव दिएका हुन् ।
कम्पनीले आज अर्थात पुस ६ गतेबाट औपचारिक रुपमा कारोबार शुरु गरेको छ । गत असोज १९ गतेदेखि व्यवसाय सञ्चालन गर्न स्वीकृति पाएको कम्पनीले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट पोखरामा औपचारिक रुपमा कारोबार शुरु गरेको हो ।
कार्यक्रमको शुभारम्भ गर्दै नेपाली बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले लघु जीवन बीमाको विस्तार गर्न, सबै वर्ग विशेषतः विपन्न तथा गरीब वर्गका व्यक्तिहरुलाई जीवन बीमाको दायरामा ल्याउन लघु जीवन बीमा कम्पनीको स्वीकृति दिएको बताए । साथै, उनले आम जनमानसमा कम्पनी दुर्गम जिल्ला तथा विपन्न वर्गहरुमा पुगि आफ्नो जीवन बीमाको सेवा पुर्याई कुनै जीवन बीमा दावी पर्दा कम्पनीले तत्कालै बीमा दावी दिई बीमाप्रति विश्वास बढाउनु पर्नेमा जोड दिए ।












