ख्रीष्टमसमा नेपाली जातीय भेषभूषा तथा संंस्कृतिको प्रवर्द्धन

काठमाडौं । इसाइहरुको पवित्र पर्व ख्रीष्टमस भव्य रुपमा देशैभरि मनाइएको छ । यही पुस ९ गते सोमबार विश्वभरका इसाइहरुद्वारा विभिन्न कार्यक्रमहरुको आयोजना गरी ख्रीष्टमस मनाइएको हो ।
नेपालमा पनि पछिल्लो समय ख्रीष्टमसको अवसरमा विविध कार्यक्रम गरी मनाउने प्रचलन बढिहरेको छ । इसाइहरुले डिसेम्बर २५ मा येशु ख्रीष्ट जन्मेको विश्वास गर्दै यो पर्व मनाउने गर्दछन् । साथै, यसको केही दिन अघि इसाइहरु घरघरमा गएर आपसमा भेटघाट गर्ने गर्दछन् ।

यस दिनमा इसाइ धर्मालम्बीहरुले संसार भरिनै उपहारहरू साटासाट गर्दै, ख्रीष्टमस रुख सिँगार्दै, भोज आयोजना गरेर गिर्जा घरहरूमा गई ख्रीष्टमस मनाउने गर्दछन् । नजिकै जङ्गल हुने समुदायमा घरका पुरुषहरू जङ्गल गएर ठुला रुखका मुढाहरू काटेर ल्याउने र आँङ्गनमा बालेर यो पर्व मनाउने गर्दछन् ।

ललितपुरको ताल्चिखेलस्थित अनन्त जीवन चर्च नेपालले पनि प्रत्येक वर्षझैं यस वर्ष पनि विविध कार्यक्रमका साथ भव्यताको रुपमा मनाएको जनाएको छ । सो दिनमा उक्त चर्चमा बर्षभरी योगदान दिने विभिन्न व्यक्तित्वहरुलाई सम्मानस्वरुप दोसल्ला ओढाएर पुरस्कार दिदै सम्मान गरिएको थियो । साथै, धार्मिक सद्भाव कायम राख्ने उद्देश्यले गिर्जाघरमा आउने हरेक बालबालीकाहरुलाई सम्मानस्वरुप विभिन्न उपहारसमेत दिइएको थियो ।

अनन्त जीवन चर्च नेपालमा आयोजित ख्रीष्टमस कार्यक्रममा नेवारी, तामाङ, शेर्पा, गुरुङ, थारु, राई जस्ता विभिन्न जातजातीहरुको पहिरन झल्काइएको थियो। उक्त विभिन्न समुदायको भेषभुषालाई सम्मान गर्दै बालबालिका तथा बृद्धबृद्धाले पनि थुप्रै नृत्य, गजल र भजनसहित मनोरन्जन तथा सन्देशमूलक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।















