१८ लाख नक्कली नोटसहित रौतहटबाट एक युवक पक्राउ
१९ पुष २०८०, बिहीबार १६:५१

काठमाडौं । नेपाल प्रहरीले १८ लाख रुपैयाँ नक्कली नोटसहित रौतहटबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुजरा नगरपालिका–५ हरिहरपुर बस्ने २५ वर्षीय सन्दीप जैसवाल रहेका छन् ।
जैसवाललाई देवाही गोनाही नगरपालिका–८ पटेल चोकबाट पक्राउ गरिएको हो । उनको साथबाट एक हजार दरका १ हजार ८४३ थान नेपाली (१८ लाख ४३ हजार) नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ ।
साथै, जैसवालको साथबाट विभिन्न बैंकको ५ थान एटीएम कार्ड तथा १६ लाख ६५ हजार उल्लेख गरिएको चेकसमेत बरामद गरिएको प्रहरीले बताएको छ । नक्कली नोटसहित पक्राउ परेका जैसवाललाई मुद्रासम्बन्धी कसुरअन्तर्गत अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ ।












