पर्यटकीय, उत्पादनको क्षेत्र र पूर्वाधार विकास सरकारको प्राथमिकताको क्षेत्र होः अर्थमन्त्री डा. महत

८ माघ २०८०, सोमबार १८:४२

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले पर्यटकीय, उत्पादनको क्षेत्र र पूर्वाधार विकास सरकारको प्राथमिकताको क्षेत्र भएको बताएका छन् । महागढीमाई नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘धैर्य गर्नुहोला, अध्ययनको आधार र भारतसँग छलफलपछि बारा एउटा नाका खुल्न सक्छ’ मन्त्री डा. महतले भने, ‘यसवर्ष सातै प्रदेशको धार्मिक स्थल र सांस्कृतिक केन्द्रको विकासका लागि बजेट राखिएको छ । बाराको गढीमाइलाई पनि २ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । पर्यटकीय र उत्पादनको क्षेत्र, पूर्वाधार विकास सरकारको प्राथमिकताको क्षेत्र हो ।’

‘द्रुतमार्ग र अन्तर्राष्ट्रिय विमानस्थल बारामा निर्माण भएपछि बाराको आर्थिक विकासले छर्लाङ मार्छ । यहाँका जनताको जीवनस्तर धेरै माथि उठ्छ’ मन्त्री डा. महतले भने, ‘भारतसँग निकासी र पैठारी गर्ने नाका भएन भन्ने बाराबासीको जुन गुनासो छ, यसलाई सम्बोधन गर्न मैले तीनवटा नाका निरीक्षण गरें, अध्ययन भइरहेको छ । नाका खोल्न हामीले मात्र ल्याउने र दिने भनेर हुँदैन, दुवै देशको सहमति र साझेदार चाहिन्छ । दुवैतिर पूर्वाधार हुनुपर्छ । एउटा ठूलै नाका बारामा होस् भन्ने सरकारको चाहना हो ।’

बाराका किसानका लागि पर्याप्त सिँचाइ छैन, सुनकोशी मरिन डाइर्भसनले सिँचाइमा थप मद्दत पुग्ने मन्त्री डा. महतले बताए । उनले भने, ‘कृषिका कारणले मात्र बारा महत्वपूर्ण होइन, सिमरा औद्योगिक करिडोर पनि बारामै पर्छ । यहाँ धेरै उद्योग व्यवसाय स्थापित छ । अझै धेरै उद्योग व्यवसाय यस क्षेत्रमा आओस् भन्ने सरकारको चाहना हो । यसले स्थानीय जनताको रोजगारी र आवश्यकतालाई थप सहयोग पुग्छ ।’

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*