२ करोडको भ्रष्टाचार मुद्दा लागेका सहायक सीडीओलाई सफाइ

९ माघ २०८०, मंगलवार १४:५४

काठमाडौं । दुई वटा फरक–फरक मुद्दामा २ करोड रुपैयाँ भन्दा बढी भ्रषटाचार गरेको आरोप लागेका जिल्ला प्रशासन कार्यालय बाराका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ) शिवराज सेढाईले सफाइ पाएका छन् ।

विशेष अदालतले सेढाईसहित तीन जनालाई प्रतिवादी बनाएर दायर दुई वटा छुट्टा–छुट्टै मुद्दामा सफाइ दिएको हो । विशेष अदालतको सोमबारको टेकनारायण कुँवर, नारायणसिंह राई र मुरारीबाबु श्रेष्ठलको इजलासले सेढाई सहितका व्यक्तिलाई सफाइ दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेढाईसहितका व्यक्तिविरुद्ध दुई छुट्टा-छुट्टै मुद्दामा २ करोड २० लाख २ हजार ९० रुपैयाँ भ्रष्टाचार गरेको भन्दै २०७९ असार १० गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

सेढाईले बाराको जितपुर सिमरा उपमहानरपालिको प्रमुख प्रशासकीय अधिकृत भएको बेला भ्रष्टाचार गरेको आरोप लागेको थियो ।

सेढाईसहित ओम सप्लायर्स बाराका प्रोपाइटर ओमशंकर प्रसाद र सप्लार्यसविरुद्ध राजश्व चुहावट गरी ९९ लाख ९९ हजार ९९९ रुपैयाँ भ्रष्टाचार गरेको जिकिरसहित सोही बराबरको विगो कायम गर्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।

सेढाईसहित न्यू पाथिभरा सप्लायर्सका प्रोपाइटर मीराकुमारी श्रेष्ठ र उक्त कम्पनी विरुद्ध पनि राजश्व छली १ करोड २० लाख २८ हजार ९० रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरिएको थियो ।

यी दुवै मुद्दामा सेढाई र कम्पनीका प्रोपाइटर कम्पनीले सफाइ पाएका छन् । सेढाईविरुद्ध अख्तियारले मुद्दा दायर गरेको बेला उनी बाराको सहायक सीडीओ थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*