काठमाडौं महानगरको नयाँ प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा हाजिर, बालेनभन्दा १ वर्षले मात्रै जेठा

१० माघ २०८०, बुधबार १४:३४

काठमाडौं । काठमाडौं महानगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार हाजिर भएका छन् । वसन्त अधिकारी कर्मचारी भर्नाको किर्ते प्रकरणमा जोडिएर सरुवा भएपछि प्रदीप परियार प्रमुख प्रशासकीय अधिकृतको रुपमा महानगर आएका हुन् । उनी राष्ट्रिय योजना आयोगका कार्यरत थिए । त्यसअघि उनी सहरी विकास मन्त्रालयमा थिए ।

बुधबार उनी महानगरका हाजिर हुँदा कुनै तामझाम थिएन । खादा माला समेत नल्याउन भन्दै उनले पहिल्यै निमित्त प्रमुख प्रशासकीय अधिकृत र प्रशासन विभाग प्रमुखलाई जानकारी दिएका थिए । गाडीबाट ओर्लिनासाथ निमित्त प्रमुख प्रशासकीय अधिकृत, सिताराम कोइराला, प्रशासन विभाग प्रमुख दिपक अधिकारी र महानगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डे लगायतले स्वागत गरे ।

३४ वर्षीय प्रदीप स्वतन्त्र उठेर मेयर बनेका बालेन शाहजस्तै सफल युवा हुन् । उनी ३२ वर्षको उमेरमा सहसचिव बनेका व्यक्ति हुन् । पर्वत फलेवासका प्रदीपले चैत २०७८ मा खुल्ला प्रतिस्पर्धामा सहसचिवमा नाम निकालेका थिए । त्यसअघि उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शाखा अधिकृतको रूपमा कार्यरत थिए ।

निजामती सेवामा उनको यात्रा ११ वर्ष भइसकेको छ । उनी २०६९ सालदेखि नायब सुब्बाका रूपमा निजामती सेवामा प्रवेश गरेका थिए । तर, सोही वर्ष उनी शाखा अधिकृतमा भिडे । फ्याट्टै नाम निकाले । निजामती सेवामा एक वर्ष परीक्षणकाल पूरा नहुँदै उनी शाखा अधिकृत भएर काम गर्न थालेका थिए ।

उपसचिवको लिखितमा उनले तीनपल्ट नाम निकाले । २०६९ सालमै उनले उपसचिव प्रशासनतर्फ आन्तरिक र खुला दुवैबाट आवेदन दिएर नाम निकालेका थिए । परराष्ट्रको उपसचिवमा पनि उनी सफल भएका थिए । यो उनले लिखितमा पाएको सफलता थियो । अन्तर्वार्तामा नछानिएपछि उनले उपसचिव भएर काम गर्न पाएनन् ।

प्रदीपले सहसचिव खुलामा समेत लिखितमा दुईपल्ट नाम निकालेका थिए तर अन्तर्वार्तामा फालिए । २०७७ सालमा पनि उनी अन्तर्वार्तामै विफल भएका थिए । तर, उनले प्रयास छोडेनन् र २०७८ मा लिखित र अन्तर्वार्तामा सफल भएरै छाडे ।

सामान्य आर्थिक अवस्था भएको परिवारमा जन्मेका प्रदीपका दाइ पनि अधिकृत पदमा सरकारी सेवा मै छन् । प्रदीपले फलेवासकै सरकारी स्कुल भवानी विद्यापीठबाट १० कक्षासम्म पढेका थिए । उनी सधैं प्रथम हुन्थे । पढ्न तगडा भएकै कारण उनले छात्रवृत्तिमा पढ्न पाए ।

शान इन्टरनेसनलबाट प्लस टु पास गरेका प्रदीपले पब्लिक युथ क्याम्पसबाट स्नातक गरे । अस्ट्रेलिया सरकारको छात्रावृत्तिमा अस्ट्रेलियन नेशनल युनिभर्सिटीबाट उनले स्नात्तकोत्तर गरेका छन् ।

संयोगः काठमाडौं महानगरपालिकाका मेयर बालेन र प्रमुख कार्यकारी प्रदीप एकै महिना जन्मेका हुन् । उमेरले प्रदीभन्दा बालेन एक वर्ष कान्छा हुन् । बालेन वैशाख २०४७ मा काठमाडौंका नरदेवीमा जन्मेका थिए । उनले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारत कर्नाटकको विश्वेश्वरय्या प्रौद्योगिकी विश्वविद्यालयबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*