प्रमुख प्रशासकीय अधिकृतले अध्यक्ष वा मेयरसामु शपथ लिनुपर्ने, सामाजिक सञ्जाल प्रयोगमा कडाई

११ माघ २०८०, बिहीबार १६:२४

काठमाडौं । प्रमुख प्रशासकीय अधिकृतले पदभार ग्रहण गर्नुअघि अनिवार्य रुपमा सम्बन्धित पालिका प्रमुख अथवा अध्यक्षसँग शपथग्रहण गर्नु पर्ने भएको छ ।

प्रमुख प्रशासकीय अधिकृतका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको आचारसंहितामा पालिका पुगेर पदभार ग्रहण गर्नुअघि शपथग्रहण गर्नु पर्ने र यसको जानकारी मन्त्रालयमा गराउनु पर्ने व्यवस्था राखिएको छ ।

प्रमुख प्रशासकीय अधिकृतहरु विभिन्न अनैतिक हर्कत र अनियमितता, भ्रष्टाचारलगायत विवादमा मुछिने क्रम बढेको भन्दै मन्त्रालयले आचारसंहिता जारी गर्न लागेको हो ।

‘नेपाल सरकारबाट स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतको आचारसंहिता’ नाम दिइएको संहिताको मस्यौदा तयार भइसकेको छ । मस्यौदामा प्रमुख प्रशासकीय अधिकृतले खुला तथा सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गर्न नहुने उल्लेख छ ।

‘विद्युतीय माध्यमबाट आफ्नो व्यक्तिगत जीवनको श्रव्य दृष्य सामग्री संग्रह गर्ने तथा प्रशारण गर्नु हुँदैन । कार्यालय समय वा कार्यालय समयबाहिर सामाजिक जीवनमा नकारात्मक प्रभाव पार्ने खालका व्यक्तिगत क्रियाकलाय गर्नु हुँदैन’ आचारसंहिताको मस्यौदामा भनिएको छ ।

मन्त्रालयका सहसचिव सुमन दाहालको संयोजकत्वमा गठित कार्यदलले सचिवलायलाई बुझाएको मस्यौदामा कार्यालय र सार्वजनिक जीवनमा गर्नुपर्ने व्यवहारदेखि सामाजिक सञ्जालको प्रयोगसम्मका नियम तोकिएका छन् ।

आचारसंहितामा प्रमुख प्रशासकीय अधिकृतले गर्नैै पर्ने कर्तव्य र गर्न नहुने कार्यहरु तोकिएको छ । जसअनुसार काममा लगनशील र तत्पर रहनुपर्ने, पदीय जिम्मेवारी निभाउँदा वृहत्तर सार्वजनिक हित हेर्नु पर्ने, वस्तुनिष्ठ र तथ्यगत आधारमा औचित्यपूर्ण निर्णय गर्नु पर्ने, सेवा प्रवाह सुधार्न क्रियाशील हुुनपर्नेलगायत छन् ।

सरकारी प्रतिक चिह्न, छाप, पास, साँचो, पासवर्ड, सिल हिफाजतपूर्वक प्रयोग गर्नुपर्ने, तथ्य वा तथ्यांक वा मुद्दालाई बंग्याएर अपव्याख्या गर्न नहुनेसहित व्यक्तिगत फाइदा हुने वा अरुको चरित्र हत्या गर्ने जस्ता व्यवहार गर्न नहुने आचारसंहिताको मस्यौदामा उल्लेख छ ।

स्थानीय तहबाट भएका निर्णयको गलत अर्थ लाग्ने गरी भ्रामक सूचना दिन नहुने र आफ्नो पीरमर्का वा गुनासो सञ्चार माध्यम वा सामाजिक सञ्जालमा राख्न नहुने, व्यक्तिगत मान, सम्मान र पदीय मर्यादामा आँच पुग्ने सामाजिक सञ्जाल तथा अनलाइनमा प्रकाशन भएका समाचारमा प्रतिक्रिया लेख्न नहुने आचारसंहितको मस्यौदामा उल्लेख छ ।

मन्त्रालय तथा स्थानीय तहका प्रमुखले निर्देशन दिएमा जुनसुकै समय र स्थानमा उपस्थित भएर तोकिए बमोजिमको काम गर्नुपर्ने समेत मस्यौदामा उल्लेख छ ।
कार्यालयमा तोकिएको पोशाक र परिचयपत्र लगाउनुपर्ने, प्रभाव, प्रलोभन, भनसुन वा आग्रहबाट प्रभावित नहुने, र काम विशेषले कार्यालय बाहिर जाँदा रजिस्टर वा विद्युतीय प्रणालीमा विवरण खुलाउनु पर्ने आचारसंहितको मस्यौदामा उल्लेख छ ।

सेवाग्राही, सम्बन्धित सरोकारवालासँग कार्यस्थलभन्दा बाहिर गोप्य भेटघाट नगर्न, उपहार नलिन र कुनै पनि प्रकारको खरिदमा स्वार्थ राखेर काम गर्न नहुने पनि संहितामा उल्लेख छ ।

कार्यालय समयभित्र व्यक्तिगत प्रयोजनका लागि सामाजिक सञ्जालको प्रयोग गर्न नहुने, सरकारी कामका लागि स्थानीय तहको इमेल ठेगाना मात्र प्रयोग गर्नुपर्ने, आधिकारिक निर्णय वा जानकारी वा सूचना अनाधिकृत रुपमा सामाजिक सञ्जालमा राख्न नहुने आचारसंहितामा समेटिदै छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*