सहकारी ठगी गरेर फरार ढोरपाटनका मेयर नेपालीलाई पक्राउ गर्न ‘रेड कर्नर नोटिस’

१२ माघ २०८०, शुक्रबार १७:२४

काठमाडौं । सहकारी ठगी गरेर फरार बागलुङको ढोरपाटनका मेयर तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवकुमार नेपालीलाई पक्राउ गर्न प्रहरीले ‘रेड कर्नर नोटिस’ निकालेको छ ।

बचतकर्ताको डेढ अर्ब र विभिन्न बैंकहरुको ३५ करोड गरी करिब २ अर्ब रुपैयाँ हिनामिना गरी बेपत्ता उनलाई पक्राउ गर्न ‘रेड कर्नर नोटिस’ जारी गरिएको हो ।
सहकारीको रकम हिनामिनामा नेपाली र उनकी श्रीमतीसहित ८ जनाविरुद्ध मुद्दा चलिरहेको छ । तर, अध्यक्ष नेपाली भने गत वैशाखदेखि नै फरार छन् । उनै नेपाली र उनकी श्रीमती छेला नेपालीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले संसारभरका प्रहरीहरुको अन्तरराष्ट्रिय प्रहरी सञ्जाल (इन्टरपोल)मार्फत् ’रेड कर्नर नोटिस’ जारी गरेको हो ।

अध्यक्ष नेपाली विदेशमा लुकेर बसेको भन्दै सहकारी पीडितहरुले रेड कर्नर नोटिस जारी गर्नुपर्ने भन्दै उजुर गरेका थिए । बागलुङका डिएसपी मदन केसीले नेपाली दम्पत्तीलाई पक्राउ गर्न इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको बताए ।

उनीहरुविरुद्ध १ हजार ५ सय ५० जना सर्वसाधारणले प्रहरीमा जाहेरी दिएका थिए । उक्त जाहेरीको आधारमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा संगठित ठगीको मुद्दा दायर गरेका छन् । उनीहरुविरुद्ध अदालतले जेठमै पक्राउ पुर्जी जारी गरेको थियो । तर उनीहरु भने बैसाख ६ गतेदेखि नै तरलता अभावले बन्द भएको भन्दै सूचना टाँसेर फरार भएका थिए ।

सहकारीका बचतकर्ताको १ अर्ब ६० करोड रुपैयाँ नेपालीले हिनामिना गरेका छन् । त्यस बाहेक नेपालीले ग्लोबल आइएमई बैक, राष्ट्रिय सहकारी बैंक र गरिमा बिकास बैंकको गरी झण्डै ३५ करोड ऋण समेत लिएको देखिएको छ । मुद्दामा तानिएका चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परिसकेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*