पैदल यात्रामा बाधा हुने संरचना सार्न वा हटाउन उपप्रमुख डंगोलको निर्देशन

१४ माघ २०८०, आईतवार १२:०७

काठमाडौँ । सडक किनारालाई पैदल यात्रीमैत्री बनाउन विकास साझेदारले बनाएका पूर्वाधारलाई कसरी व्यवस्थापन गर्ने चुनौती देखिएको छ । बिजुलीका पोल, खानेपानीका पाइप, ढल निकासको मंगाल पैदल मार्गको बिचमै भएका कारण ब्लक राख्न नमिल्नु यस्का केही उदाहरण हुन् ।

शनिवार उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी, सदस्य बाबुराम भट्टराईसहित योजना, अनुगमन तथा मूल्याङ्कन एकाइका अधिकारीसहित सिनामंगल क्षेत्रमा अनुगमन गर्दा यस्तो अवस्था पाइएको हो ।

‘सहरलाई हिँड्ने संस्कृतिले चलायमान बनाउँछ । सवारी साधन सबैले प्रयोग गर्न नसक्न सक्छन् तर, पैदल मार्गमा सबैले हिँड्नु पर्छ । यसका लागि पैदल मार्गलाई सहज र पहुँचयुक्त बनाउने पर्नेछ ।’ उपप्रमुख डंगोलले भनिन्, ‘हामी लगानी गरिरहेका छौँ । सहरी सुविधा वितरणका लागि पूर्वाधार बनाउने अन्य निकायका संरचनाले पैदल मार्गमा बाधा सिर्जना गरेका छन् ।’

यस सडक खण्डमा पहिले षट्कोण ब्लक राखिएको थियो । ठाउँ ठाउँमा ब्लक फुटेको, भासिएको, उप्किएका कारण हिँड्न कठिन थियो । यसलाई सुधार गर्दै मल्टिकलर ब्लक राखेर सुन्दर बनाइँदैछ । यति प्रयास गर्दा पनि कतिपय ठाउँमा व्हील चेयर गुडाउन सक्ने वातावरण बन्न सकेको छैन । विजुली, खानेपानी, ढल निकास जस्ता संरचना बनाउँदा छुट्टाछुट्टै योजनाबाट काम भएकोले चौडाइ नपुगेर, पोल, खम्बा तथा मंगालजस्ता संरचना एकै ठाउँमा परेर यस्तो भएको हो । यस्ता साँघुरा ठाउँमा सम्भव भएसम्मका संरचना काटेर चौडाइ पु¥याउने प्रयत्न गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*