भारतसँग भएको विद्युत् खरिद सम्झौता सार्वजनिक गर्न सांसदहरुको माग

१४ माघ २०८०, आईतवार १७:४४

काठमाडौं । प्रमुख प्रतिपक्ष एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायतका दलहरुले भारतसँग हालै भएको विद्युत खरिद सम्झौता तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।

आइतबार सिंहदरबारमा संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै एमाले सचेतक महेश बर्तौला, रास्वपाका प्रमुख सचेतक सन्तोष परियारलगायत सांसदहरुले विद्युत खरिदसम्बन्धी सम्झौता तत्काल संसदीय समितिमा पेश गर्न सरकारसँग माग गरेका हुन् ।

एमालेका सचेतक बर्तौलाले विद्युत खरिद सम्झौता तत्काल समितिमा पेश गर्न दिएको निर्देशन सरकारले अटेर गरेको भन्दै आपत्ति जनाए । संसदीय समितिले दिएको निर्देशन सरकारले पालना नगर्ने कुरा कुनै पनि हालतमा स्वीकार्य नहुने उनको भनाइ छ ।

‘हामीले निर्देश गरे बमोजिमको सम्झौताका कपीहरु हामीले पाउनु पर्दथ्यो । त्यसकारण अहिलेसम्म त्यो नहुने कुरा, संसदीय समितिलाई सरकारले यस प्रकारले अनदेखा गर्ने, हेप्ने, संसदीय समितिको निर्देशनलाई नमान्ने । यो कुरा किमार्थ स्वीकार्य हुन सक्दैन,’ उनले भने, ‘संसदको समितिले गरेको निर्देशनलाई अस्वीकार गर्ने यो सरकारको जे रवैया छ । त्यो खेदजनक छ । त्यसकारण गम्भीरताका साथ यदि आएको छ भने पहिला उपलब्ध गराइयोस् ।’

रास्वपाका प्रमुख सचेतक परियारले संसदीय समितिले दिएको निर्देशन अवमूल्यन गर्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराए । यो सम्झौताको प्रति तत्काल उपलब्ध गराउन सरकारलाई फेरि रुलिङ गर्न पनि कानून, न्याय तथा मानव अधिकार समितिका सभापतिलाई उनले सुझाव दिए ।

उनले प्रधानमन्त्री प्रचण्डले आएर समितिमा सम्झौताको प्रति उपलब्ध गराउँछु भनेको भए पनि हालसम्म उपस्थित नहुने कुरा उचित नभएको भन्दै आपत्ति जनाए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*