इभीले भरिंदै नेपाली बजार, के कर बढ्ने त्रासले आयात बढेको हो ?

दिपक विष्ट
१५ माघ २०८०, सोमबार १८:१६

काठमाडौँ । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारी (कार, जीप र भ्यान) आयातमा उल्लेख्य वृद्धि भएको छ । नेपाली बजारमा विद्युतीय आकर्षण थपिएसँगै आयातमा निरन्तर वृद्धि भइरहेको हो । आवश्यक पूर्वाधार बन्दै गएपछि इभीका प्रयोगकर्ता बढेका बताइन्छ ।

नेपाली अटो बजार विद्युतीय सवारीले भरिन थालेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा १२ अर्ब ७३ करोड २७ लाख रुपैयाँ बराबरको ५ हजार १०७ वटा इभी नेपाल भित्रिएका छन् ।

बजारले माग बढ्दै गएकाले इभीको आयात बढेको बताइरहँदा नयाँ आर्थिक वर्षमा कर बढ्न संकेतले आयातमा उछाल आएको रुपमा समेत अथ्र्याउन थालिएको छ । पुस महिनामा सबैभन्दा बढी इभी भित्रिएको विभागको तथ्याङले देखाएको छ । पुसमा मात्रै १ हजार ४२१ वटा इभी आयात भएको हो ।

मंसिरमा ८९९ वटा, कात्तिकमा ६५२ वटा, असोजमा १ हजार २३७ वटा, भदौमा ७८८ वटा, साउनमा ११० वटा इभि गाडि भित्रिएका छन् ।

अधिकांश गाडी चीन र भारतबाट आयात

नेपालमा आयात हुने इभी गाडी भारत र चीनबाट बढी रहेको भन्सारको तथ्याङले देखाएको छ । नेपालमा चीन, भारतलगायत कोरिया, जर्मन, इन्डोनेसिया, अमेरिका लगायतका मुलुकहरूबाट विद्युतीय सवारी आयात हुने गरेको पाइएको छ । नेपालमा विक्री हुने गाडी मध्ये, बीवाइडी, नेटा, एमजी, सेरेस, ओरा, चिनियाँ ब्रान्ड हुन् ।

त्यस्तै टाटा, हुन्डाइ, महिन्द्रा, कियालगायत भारतबाट आउने गरेका छन् । नेपालीको सबै भन्दा बढी आकर्षण ५० देखि १०० किलोवाट क्षमताका सवारीमा देखिएको छ ।

के कर बढ्ने संकेतले आयात बढेको हो ?

सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा विद्युतीय सवारी साधनको आयातमा प्रोत्साहन गर्ने नीतिसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा. प्रकाशशरण महतले १०० किलोवाटभन्दा माथिका सवारी साधनको आयातमा भन्सार दर र अन्तःशुल्क घटाएको थियो । सो पश्चात नेपाली बजारमा निरन्तर इभी भित्रिनेक्रम जारी रहेको छ ।

पुष २० गते अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)को वार्षिक साधारण सभामा बोल्दै इभी गाडीमा कर बढ्ने संकेत अर्थमन्त्री डा.प्रकाशशरण महतले दिएका थिए ।

अर्थमन्त्री डा. महतले माघ १२ गते भन्सार दिवसमा समेत विद्युतीय गाडीलाई कर छुटले ३५ अर्बबढी राजस्व कम भएको जिकिर गरेका थिए । पेट्रोलियम पदार्थबाट चल्ने गाडीको तुलनामा विद्युतीय गाडी आयात हुँदा राजस्व अपेक्षित उठ्न उनको तर्क थियो । जसको प्रष्ट संकेत हो, अब कर बढाउने । र एकतर्फी व्यवसायी कर बढाउने संकेतले आयातमा वृद्धि भइरहेको बताउन थालिसकेका छन् ।

अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)का इभी सभापति राजन श्रेष्ठले अहिलेको आयात वृद्धिको मुख्य कारण नै करको त्रास बताएका छन् । ‘अहिले इभी धेरै आयात हुनुमा मुख्य कारण भनेकै करको त्रास हो । जब हल्ला चल्छ । ग्राहकलाई पनि पछि महँगिने डर हुन्छ’, श्रेष्ठले भने, ‘राजस्ववृद्धि हुने त्रासले बेच्नेहरुलाई समेत अहिल्यै ल्याएर राख्न सके राम्रो हुने भन्ने फाइदाको लोभ हुन्छ । त्यसैले पनि आयात वृद्धि भएको हो ।’

करको त्रास प्रमुख कारण भएपनि माग भने बढ्न नसकेको श्रेष्ठले बताए । उनले भने, ‘डर राजस्व वृद्धिको भए पनि माग वृद्धि भएको भन्ने चाँहि होइन । पहिले जस्तो थियो त्यसै हिसाबमा गइरहेको छ । माग बढेर आयात वृद्धि भएको भन्ने कुरा हुँदै होइन ।’

अर्थमन्त्रालयका अनुसार तत्काल इभी गाडीको कर वृद्धिको कुनै तयारी छैन । अर्थमन्त्रालयका एक अधिकारीले भने, ‘तत्काल इभीमा कर बढाउने अर्थमन्त्रालयको कुनै तयारी छैन । कर बढ्ने कुरा, बजारिया हल्ला मात्रै हो ।’

उनका अनुसार नयाँ बजेटमा भने इभीको कर हेरफेर हुन्छ । ‘इभीमा कर लगाउने विषयमा अर्थमन्त्रालयमा छलफल समेत भएको छैन । तर, नयाँ बजेट मार्फत कर बढेर आउने चाहिँ पक्का जस्तै हो’, उनले भने ।

अहिले इभीको आयात वृद्धि हुुनु करको प्रभाव नभइ ग्राहकहरुको माग रहेको एक व्यवसायीले बताए । ‘पछिल्लो समय विद्युतीय सवारी किन्ने ग्राहकका संख्या पनि बढ्दो क्रममा रहेको छ । लामो दुरीमा गाडी चलाउँदा वा घरमा खरिदकर्तालाई प्रोत्साहन हुने गरी आवश्यक पूर्वाधार पनि विस्तारै बन्दै गएकाले पनि आकर्षण बढिरहेको छ । माग पनि त्यसअनुसार पछिल्लो समय वृद्धि भइरहेको हो’ उनले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*