बाँसबारी छालाजुत्ताको जग्गा प्रकरणमा विनोद चौधरी समेत जोडिए, क-कसका नाममा छ शेयर ?

१८ माघ २०८०, बिहीबार १६:१३

काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोपमा पक्राउ परेका चर्चित व्यापारी अरुण चौधरी र बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापाविरुद्ध कीर्ते र ठगी कसुरमा अनुसन्धान सुरु भएको छ ।

बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सरकारी जग्गा हडेको आरोपमा अर्बपति उद्योगी एवं सांसद विनोद चौधरीका भाइ अरुण र बाँसबारी छाला जुत्ताका तत्कालीन अध्यक्ष अजितनारायणलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुबैमाथि लिखत सम्बन्धी कसुर अन्तर्गतको कीर्ते र ठगीमा अनुसन्धानअघि बढाइएको सीआईबीका एसपी होविन्द्र बोगटीले बताए । उनीहरुलाई अदालतमा उपस्थित गराएर म्याद थप गरिने र विस्तृत अनुसन्धान गर्ने सीआईबीले जानकारी दिएको छ ।

चौधरीलाई लैनचौरस्थित उनकै निवास र थापालाई बत्तीसपुतलीबाट पक्राउ गरिएको थियो । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सार्वजनिक जग्गा चौधरीको घरानाले हडपेको पाइएको छ । चौधरी घरानाले कौडीको भाउमा कब्जा गरेको जग्गामा रहेको फ्याक्ट्रि अहिले अरुण चौधरी, उनकी श्रीमती शिला चौधरी, आम्रपाली कन्स्ट्रक्सनका अध्यक्ष सन्ज ठाकुर र विनोद चौधरी समेतको नाममा रहेको सीआईबीले जानकारी दिएको छ ।

चौधरी ग्रुपले च्याम्पियन सु फ्याक्ट्रीका नाममा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको बताइएको छ । फ्याक्ट्रीको शेयर सदस्य सांसद विनोदकुमार चौधरी, अरूणकुमार चौधरी लगायत छन् । सीआईबीका एसएसपी दिनेश आचार्यको नेतृत्वमा बाँसबारी छाला जुत्ता उद्योगको सार्वजनिक जग्गाबारे अनुसन्धान भइरहेको बताइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*