बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडप्नेहरुको पक्षमा उभिए उद्योग ब्यवसायी

१८ माघ २०८०, बिहीबार २०:०८

काठमाडौँ । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडप्नेहरुको पक्षमा उद्योग ब्यवसायीहरु लागेका छन् । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको ओरापमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबि) ले बिहिबार चर्चित व्यापारी अरुण चौधरी र बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा पक्राउ गरेको हो । यता, ब्यवसायी भने बचाउमा लागेका छन् ।

विद्युतको बक्यौता रकम तिर्न नेपाल विद्युत प्राधिकरणले निर्देशन दिएपछि पत्रकार सम्मेलन गर्दै बचाउ गर्दै आएको ब्यवसायी पुनः फेरी बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडप्नेहरुको पक्षमा लागि परेका हुन् । बिहिबार एक पत्रकार सम्मेलन गर्दै नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले चौधरीलाई कुनै सूचना नदिई हठात् रुपमा पक्राउ गरेको बताए ।

उनलाई प्रहरीले अनुसन्धान नै नगरि तथा कहिले सोधपुक्षको लागि समेत नबोलाइ पक्राउ गरेको भन्दै उनले आपत्ति जनाए । उनले भने, ‘प्रहरीले पहिले अनुसन्धानमा समेत नबोलाएर अपराधी तरिकाले पक्राउ गरेको छ । यस्तो कार्यले निजि क्षेत्र माथि धरपकड भएको महसुस भएको छ । यो निजि क्षेत्र माथि गरेको मानमर्दन हो ।’

यता, स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (एपान) का अध्यक्ष गणेश कार्कीले समेत चौधरी पक्राउ गर्नु निजि क्षेत्र धरासयी बनाउने खेल भएको बताएका छन् । ‘सरकार र निजि क्षेत्रसँगसगै जानु पर्छ तर सरकारले ब्यवसायी माथि गरेको उक्त धरपकडले निजि क्षेत्र ब्यवसाय नगर्ने सक्ने अवस्था आयो’ अध्यक्ष कार्कीले भने,– ‘निजि क्षेत्रलाई प्रोत्साहन भएन भने अर्थतन्त्र अगाडि बढ्दैन् । यसलाई सरकारले तत्काल निराकरण गर्नुपर्छ ।’ जलविद्युत क्षेत्रमा पनि सरकारले ठूलो मात्रामा लगानीको योजना बनाइरहेको र वैशाखमा लगानी सम्मेलनको आयोजना गरेकाले पछिल्लो कदमले लगानीको वातावरण बिग्रने उनले बताए ।

त्यस्तै, निजि क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले समेत ब्यवसायी चौधरी पक्राउमा आपत्ति जनाएको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै निराश अवस्था रहेको ब्यवसायीलाई सरकारको यस्तो कदमले थप पिडा दिएको बताएको छ । सरकारले पहिले गिरफ्तार र पछि समस्या पहिल्याउने पक्षमा लागि परेको महासंघको विज्ञप्तिमा उल्लेख गरीएको छ । ‘महासंघले सम्बन्धित विषयको गहिरो अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न सरकारलाई पटकपटक आग्रह गर्दै आएको छ । पहिले गिरफ्तार गर्ने र त्यसपछि समस्या पहिल्याउने प्रवृत्तिले देशको वर्तमान व्यावसायिक परिदृश्यबाट पहिले नै निराश भएका व्यवसायीहरूलाई थप निरुत्साहित बनाएको छ । महासंघ यस विषयमा पहिले सत्यतथ्य पत्ता लगाएर आवश्यक परे कानुनी कारबाही अघि बढाउन सरकारलाई आग्रह गर्दछ,’ महासंघले विज्ञप्तिमा भनेको छ ।

नाडाका उपाध्यक्ष निराकर श्रेष्ठले पनि चौधरी पक्राउको निर्णय सरकारले तत्काल सच्याउनुपर्ने तर्क राखे । ब्यवसायीलाई कुनै कारण बिना धरपकड गर्ने कार्यले सरकारले पहिला थुन्ने र पछि सुन्ने काम गरेको उनले बताए ।

सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिइसकेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*