अरुण चौधरीले बाँसबारी छालाजुत्ताको सरकारी शेयर किनेको रहस्य खुल्यो, जालझेलपूर्वक च्याम्पियन फुटवेयरलाई चाँदबाग स्कुल बनाइयो

१९ माघ २०८०, शुक्रबार १७:२१

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले अरुण चौधरीले च्याम्पियन फुटवेयरमा बाँसबारी छाला उद्योगका नाममा रहेकोमध्येबाट २५ प्रतिशत शेयर किनेको खुलासा गरेको छ ।

सीआईबीले त्यसै आधारमा अरुण चौधरीलाई पक्राउ गरेको समेत बताएको छ । शुक्रबार सिआईबीले पत्रकार सम्मेलन गरेर लामो समयको अनुसन्धानपछि चौधरीलगायत बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिनामा संलग्नहरुलाई पक्राउ गरिएको जानकारी दिएको हो ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले २०५२ साल साउन ११ गते च्याम्पियन फुटवेयरको २५ प्रतिशत शेयर अरुण चौधरीको नाममा आएको प्रमाण रहेको जानकारी दिए । उनले च्याम्पियन फुटवेयरको २५ प्रतिशत शेयर अरुण चौधरीको नाममा आएपछि तत्कालीन च्याम्पियन फुटवेयर लिमिटेडलाई २०५४ पुस ४ गते प्राइभेट कम्पनीमा रुपान्तरण गरिएको बताए ।

बाँसबारी छालाजुत्ता कारखाना निजीकरणका क्रममा च्याम्पियन फुटवेयरको २५ प्रतिशत सरकारी शेयर किन्ने प्रस्तावका आधारमा महालेखा नियन्त्रणको कार्यालयबाट २५ प्रतिशत शेयरको लिलामी निकाल्ने भनिए पनि लिलामी गरिनुपर्ने शेयरलाई ३६ लाख रुपैयाँमा अरुणकुमार चौधरीले किनेको प्रमाण सीआईबीले भेट्टाएको एसएसपी आचार्यले बताए ।

चौधरीले २०५४ पौष ४ मा च्याम्पियन फुटवेयर लिमिटेडलाई च्याम्पियन फुटवेयर प्राइभेट लिमिटेडमा दर्ता गरिएपछि तत्कालीन सरकारको अधिनमा रहेको जग्गा व्यक्तिको नाममा गएको बताइएको छ ।

च्याम्पियन फुटवेयर प्रालिको नाम पनि परिवर्तन गरेर सिजी चाँदबाग रेसिडेन्सी प्रालि राखिएको पनि अनुसन्धानबाट खुलेको छ । उनले बाँसबारी छाला उद्योगले दिएको १० रोपनी जग्गामा सञ्चालन हुने भनिएको च्याम्पियन फुटवेयरमा प्रारम्भिक रूपमा चौधरी समूहको ५१ प्रतिशत, बाँसबारी छाला उद्योगको २५ प्रतिशत र २४ प्रतिशत शेयर सर्वसाधारणको रहने भनिएको भए पनि त्यस्तो नभएको सीआईबीले जनाएको छ ।

२४ प्रतिशत सर्वसाधरणको लागि जारी गर्ने भनिएको शेयर पनि कतै जारी नभएको अनुसन्धानबाट खुलेको छ । बाँसबारी छाला उद्योगले आफ्नो नाममा रहेको १८ रोपनी ३ आना २ पैसा जग्गामध्ये १० रोपनी जग्गा च्याम्पियन फुटवेयरले प्रतिरोपनी २ लाख ५० हजारको दरले मूल्याङ्कनको आधारमा बाँसबारी छाला उद्योगले कुल २६ लाख लगानी गरेको देखिएको जानकारी एसएसपी आचार्यले बताए । उनले च्याम्पियन फुटवेयरको चुक्ता पूँजी ५० लाखमात्र देखिएको जिकिर गरे ।

बाँसबारीस्थित छाला जुत्ता कारखानामा रहेको १८ रोपनी सरकारी जग्गा मध्येबाट १० रोपनी जग्गा हिनामिना भएको सीआईबीले जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*