अर्थ मन्त्रालय मातहतका आधा दर्जन निकायको प्रमुखहरु हेरफेर, भुपाल बराल बने आन्तरिक राजश्व विभागका महानिर्देशक

काठमाडौं । अर्थ मन्त्रालयमा नयाँ अर्थ मन्त्री आउन सक्ने भन्दै बाहिर चर्को हल्ला भइरहेको बेला हिजो सो मन्त्रालय मातहतका आधा दर्जन बढि विभागको जिम्मेवारी हेरफेर भएको छ । यसअघि अर्थमन्त्रालयकै वित्तीय शाखाका प्रमुख भुपाल बराललाई आन्तरिक राजश्व विभागको महानिर्देशकको जिम्मेवारी तोकिएको छ भने विभानस्थल भन्सार कार्यालयका टोकराज पाण्डेयलाई अथै मन्त्रालय फिर्ता बोलाइएको छ ।
गत बिहिवार बसेको मन्त्रिपरिषदको बैठकले अर्थमन्त्रालयको वित्तीय महाशाखाको जिम्मेवारी नारायण रिसाललाई दिने निर्णय गरेको छ । त्यस्तै, अर्थमन्त्रालयकै कर्मचारी प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा विमानस्थलका टोकराज पाण्डेयलाई तोकिएको छ ।
विमानस्थल भन्सार कार्यालयको प्रमुखमा सेवन्त पोखरेललाई तोकिएको छ । भन्सार विभागको उप महानिर्देशकमा हाल आन्तरिक राजश्व विभागको उप महानिर्देशक टंक प्रसाद पाण्डेयलाई पठाउने निर्णय गरिएको छ ।
त्यस्तै, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुखमा महेश आचार्यको सरुवा गरिएको छ । नीति विश्लेषण महाशाखाका प्रमुख बाबुराम भण्डारी सेवा निवृत्त भएकोले हिजै शुक्रबार विदाई गरिएको छ ।
उता, आन्तरिक राजश्व विभागबाट हटाइएका दीर्घराज मैनालीलाई सार्वजनिक वित्त व्यवस्थापन कार्यालयको जिम्मेवाी दिइएको छ ।











