बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले गर्यो शिक्षक एवं विद्यार्थीहरुसँग बीमा अन्तरक्रिया कार्यक्रम

२१ माघ २०८०, आईतवार ११:२३

काठमाडौँ । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले शिक्षक एवं विद्यार्थीहरुसँग बीमा विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम अन्तर्गत माघ १९ गते बारा जिल्लाको श्री जनता उच्च माध्यमिक विद्यालय, उमजनमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमको सभापतित्वमा प्राधिकरण मधेश प्रदेशका सहायक निर्देशक अनिश तिमिल्सिना, प्रमुख अतिथि श्री जनता उच्च माध्यमिक विद्यालयका सह प्रधानाध्यपक रामनाथ प्रसाद चौधरी र विशेष अतिथिको रुपमा नरेश चौधरी रहेका थिए ।

कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरु सहित ८० जना भन्दा बढीको सहभागीता रहेको थियो। प्राधिकरणका सहायक निर्देशक निर्मल खनालले नेपाल बीमा प्राधिकरणको परिचय, काम कर्तव्य र अधिकार, बीमाको परिचय र महत्व, कृषि जडिबुटि तथा पशुपन्छी बीमा, लघु बीमा, शिक्षक र विद्यार्थीको बीमा प्रवर्द्धनमा भूमिका र नेपालको बीमा क्षेत्रमा विद्यार्थीहरुको भविष्य लगायतका विषयहरुमा प्रस्तुतिकरण गरेका थिए । प्रस्तुतिकरण पश्चातको छलफल कार्यक्रममा सहभागीहरुले बीमाका विविध विषयहरुमा जिज्ञासा राखेका थिए ।

प्रमुख अतिथि रामनाथ प्रसाद चौधरीले समाजमा विद्यमान विभिन्न जोखिम विरुद्ध आर्थिक सुरक्षा प्रदान गर्ने माध्यम बीमा रहेको र शिक्षक एवं विद्यार्थीहरुले समाजमा बीमाको साक्षरता अभिवृद्धि गर्न भूमिका खेल्नु पर्ने धारणा राखेका थिए । साथै, कार्यक्रम आयोजना गरी नेपाल बीमा प्राधिकरण र बीमाका विविध विषयहरुमा जानकारी उपलब्ध गराएकोमा नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयलाई धन्यवाद ज्ञापन गरे ।

प्राधिकरणको मधेश प्रदेश कार्यालयका सहायक निर्देशक अनिश तिमिल्सिनाले शिक्षक र विद्यार्थीहरुले बीमाको महत्व बूझी समाजमा बीमा सम्बन्धी साक्षरता अभिवृद्धि गरी बीमाको दायरा विस्तारमा योगदान गर्नु पर्ने धारणा राखेका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*