इच्छाराज तामाङको सबै सम्पति जफत, छोरीले पाए सफाई, पत्नी र मामालाई कैद सजाय

२१ माघ २०८०, आईतवार १८:४२

काठमाडौं । सिभिल बैंकका पूर्व अध्यक्ष इच्छाराज तामाङको सबै सम्पति जफत हुने भएको छ । तामाङ दम्पतिलाई कैद सजायका साथै बिगो भराउन र जरिवाना असुल गर्न समेत विशेष अदालतले आदेश गरेको छ । यो पटक उनीमात्रै हैन उनको श्रीमती र मामा पनि कैद सजायमा परेका छन् । आफनो नाममा सम्पत्ति राख्दा छानविन हुने दरले आफन्तको नाममा लुकाउदा पनि अनुसन्धानको क्रममा उनको आफन्त पनि उनको मुद्धामा परेका छन् ।

विशेष अदालतले पूर्वसांसद एवं सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर गर्दै ३ वर्ष कैद र एक अर्ब ७२ करोड रुपैयाँ बिगो भराउने आदेश गरेको छ । विशेष अदालतले उनलाई त्यति नै रकम जरिवाना पनि तोकेको छ ।

अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर भएका तामाङ, उनकी पत्नी सिर्जना र मामा ससुरा केशवराज श्रेष्ठलाई आइतबार सजाय तोकेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

विशेष अदालतले इच्छाराजकी पत्नी सिर्जनालाई एक वर्ष ६ महिना कैद र एक अर्ब ३ करोड रुपैयाँ बिगो र त्यति नै जरिवाना तोकेको छ । इच्छाराजका मामाससुरा केशवराज श्रेष्ठलाई डेढ वर्ष कैद, २५ करोड ६५ लाख बिगो र त्यति नै बराबरको जरिवाना तोकेको छ ।

इच्छाराजका छोरीहरु प्रतीक्षा र प्रतिष्ठाले भने सफाइ पाइसकेका छन् । विशेष अदालतले इच्छाराज, पत्नी, दुई छोरीहरु, इच्छाराजका मामाससुरा केशवलाल श्रेष्ठ, केशवकी पत्नी मीनाको नाममा रहेको सम्पत्ति जफत गर्न आदेश समेत दिएको छ ।

विशेष अदालतले फैसलामा भनेको छ, ‘यी प्रतिवादीहरु उपर काठमाडौं जिल्ला अदालतमा विचाराधीन ठगी मुद्दामा कसुर ठहर भएमा पीडितको बिगो भरिभराउने गर्ने कार्यले नै प्राथमिकता पाउने ठहर्छ ।’

१६ भदौ २०७९ मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले इच्छाराजसहित उनकी पत्नी सिर्जना, दुई छोरी, अनि मामाससुरा केशवराज विरुद्ध सम्पत्ति शुद्धिकरणको आरोपमा मुद्दा दायर गरेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*