सजिलमान शाक्यको न्याय माग्दै पीडित पक्ष आन्दोलित

काठमाडौं । गत भदौ १५ गते पुल्चोकस्थित स्क्वायर होटलमा स्वीमिङ गर्न जाँदा करेन्ट लागेर गम्भीर घाइते भएका जावलाखेलका ४१ वर्षीय सजिलमान शाक्यको न्याय माग्दै पीडित पक्ष आन्दोलनमा उत्रिएका छन् । शाक्यले स्वीमिङ पुल छेउको स्पट लाइटमा छुँदा करेन्ट प्रवाह भएर गम्भीर घाइते भएका थिए ।
सजिलमान श्रीमती र छोरीसँगै भएर होटल स्क्वायर गएका थिए। होटलमा रहेको स्वीमिङ पुलमा अपराह्न ३ बजेतिर उनले पौडी खेलेको बेला पुलको छेउमा आएकी छोरीलाई समात्न खोज्दा सलिजको हातले पुलको छेउमा रहेको बत्तिमा छोइएपछि करेन्ट प्रवाह भएको पीडित परिवारले दाबी गरेका छन।

स्वीमिङ पुलमै करेन्ट लागेर अचेत अवस्थामा पुगेपछि होटलकै कर्मचारी र सजिलकी श्रीमतीले उद्धार गरी अस्पताल पुर्याएका थिए । पूर्णरुपमा अचेत सजिलको शरीरको अन्य अंग सामान्य अवस्थामा रहेपनि हालसम्म होस नआएको परिवारले दाबी गरेका छन् ।
यसका पीडित पक्षले न्यायको माग गर्दै प्रहरीमा होटल संचालकहरु रोमी अर्याल र ललिता भण्डारी विरुद्धउजुरी दिएका थिए । तर प्रहरीले कारवाही गर्नुको सट्टा अल्झाउने काम मात्र गरेको भन्दै पीडित पक्ष आन्दोलनमा उत्रिएका हुन् । पीडित पक्षले यसअघि पनि पटक पटक न्याय माग्दै आन्दोलन गरेका थिए ।












