चालु आर्थिक वर्षको ६ महिनामा ७४ अर्ब ९७ करोडको निर्यात, वस्तु आयात कति ?

२३ माघ २०८०, मंगलवार १३:२०

काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा कुल वस्तु निर्यात ७.२ प्रतिशतले कमी आई ७४ अर्ब ९७ करोड रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखाएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३२ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात १२.८ प्रतिशतले कमी आएको राष्ट्र बैंकको भनाइ छ । तर, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ३७०.९ प्रतिशत र १.३ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोड, जुस, तयारी पोसाक, अदुवा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, चिया, ऊनी गलैचा, रोजिन लगायतका वस्तुको निर्यात घटेको छ ।

समिक्षा अवधिमा कुल वस्तु आयात ३.१ प्रतिशतले कमी आई ७ खर्ब ६८ अर्ब १७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २०.७ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः २.४ प्रतिशत र २५.७ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३४ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा तयारी पोशाक, विद्युत्तीय उपकरण, एम.एस. तार, छड, बार तथा क्वाइल, लत्ताकपडा, सवारी साधान तथा स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने सुन, कच्चा सोयाविन तेल, कच्चा पाम तेल, धान तथा चामल, पेट्रोलियम पदार्थ लगायतका वस्तुको आयात घटेको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा कुल वस्तु व्यापार घाटा २.६ प्रतिशतले आएको बैंकले जनाएको छ । जसअनुसार व्यापार घाटा ६ खर्ब ९३ अर्ब २० करोड कायम भएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १९.२ प्रतिशतले घटेको थियो । यसअवधिमा निर्यात–आयात अनुपात ९.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.२ प्रतिशत रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*