सुन तस्करीमा जोडिएकी अमला रोकाविरुद्ध रेडकर्नर नोटिस जारी, सँगै सुन खानी खोल्ने प्रनिश पुनलाई जोगाउँदै सीआईबी

२४ माघ २०८०, बुधबार १७:०४

काठमाडौं । सत्य सेवा सुरक्षणम् भन्ने मूलमन्त्रसहित स्थापित नेपाल प्रहरीको मुख्य दायित्व कोही निर्दोष नफसुन र कोही अपराधी नछुटुन भन्ने हो । तर, यतिबेलाको शक्तिशाली नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो शक्तिशाली र पहुँचवालाहरुको वरिपरि नै नजाने र निमुखा, निर्दा र सहयोगीहरुलाई पक्राउ गरेर नाक ठूलो पारिरहेको चित्र १०० किलो सुन काण्डमा समेत देखिन आएको छ ।

लुनकरण दास चौधरीले तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हत्याए, सो जग्गा विनोद चौधरी, बसन्त चौधरी र अरुण कुमार चौधरीेले बराबरी अंश बाँडेर लिए । सीआईबीले कान्छो भाइ अरुणलाई मात्रै समात्यो । त्यस्तै नेपालको इतिहासमै तस्करीको १०० किलो सुन पक्राउ गरेर राजश्व अनुसन्धान विभागले ऐतिहासिक काम गर्यो तर, पहुँचवालालाई बचाउन उक्त सुनको अनुसन्धान राजश्व अनुसन्धानबाट सीआईबी पुर्याएर थुप्रै पहुँचवालाहरुलाई उन्मुक्ति दिइएको तथ्य फेला परेको छ ।

त्रिभुवन विमानस्थलबाट एक क्वीन्टल सुन तस्करी प्रकरणमा जोडिएकी रोल्पाकी अमला रोकाविरुद्ध प्रहरीले डिफ्युजन (रेडकर्नर) नोटिश जारी गर्दै नेपाल बाहिर लुकेको अवस्थामा पनि पक्राउ गरेर ल्याउने बाटो खोलेको छ । तर, प्रहरीले अमला रोकाविरुद्ध रेडकर्नर नोटिस जारी गरेपनि उनका साझेदार प्रनिश पुनको सम्बन्धमा कुनै पनि निर्णय नगरी अलपत्र छोडिएको तथ्य भेटिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को चिठीपछि इन्टरपोलले रोकाविरुद्ध डिफ्युजन नोटिश जारी गरे पनि अमलासँगै सुन खानी नै दर्ता गरेर तस्करीको सुन पचाउन खोज्ने प्रनिश पुनको नाम खोई ? भन्दै प्रश्न उठेको छ । रोल्पा घर भएकी रोका यसअघि राजश्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको एक क्विन्टल सुन तस्करीका मूल नाइके भनिएका चिनियाँ नागरिक दावा लामाकी पत्नी हुन् । ठमेलस्थित भियना होटलकी सञ्चालक समेत रहेकी उनी सोही होटलबाट श्रीमान् दावा पक्राउ परेकै दिनदेखि फरार छिन् ।

राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर बाहिरिँदै गरेको एक क्विन्टल (प्रहरीले गाल्दा ६० किलो मात्रै भएको) सुन तस्करी प्रकरणमा उनको समेत संलग्नता रहेको प्रमाण सिआईबीले फेला पारेको छ । हाल अमला रोकासहितलाई प्रतिवादी बनाउँदै अदालतमा मुद्दा समेत दर्ता भइसकेको अवस्था छ । अमलासहित सुन तस्करी प्रकरणमा १८ जनालाई फरार प्रतिवादी बनाइएको छ ।

अमला रोका माओवादी नेतासँग निकट मानिन्छिन् । उनी माओवादी रोल्पा-काठमाडौं सम्पर्क मञ्जकी पूर्व उपाध्यक्ष समेत हुन् । सुन तस्करीका नाइके दावा र पत्नी अमलाका व्यापारिक साझेदार दिपेश पुन र प्रनिश पुनमगर समेत रहेको प्रहरीको दावी छ ।

प्रनिश अमला अध्यक्ष रहेको भियना मल्टिपर्पोज ग्रुप प्रालिका शेयर सदस्य नै हुन् । उनको भियना मल्टिपर्पोजमा ३० हजार कित्ता शेयर लगानी रहेको शेयर दर्ता किताबको विवरण नै बीमापोष्टलाई प्राप्त भएको छ ।

कम्पनी रजिस्ट्रार कार्यालयको अभिलेख अनुसार कम्पनीमा अमलाको नाममा दुई लाख २५ हजार कित्ता, दीपक बुढाको नाममा ४२ हजार ५०० कित्ता, सिशम रोका मगर दुई हजार ५०० कित्ता र प्रनिश पुनमगरको नाममा ३० हजार कित्ता शेयर रहेको लगतमा भेटिएको छ ।

भियना मल्टिपर्पोज अन्तर्गत सुन खानी नै स्थापना गरिएको छ । उनीहरुले रोल्पाको सुनछहरी भन्ने स्थानमा सुन खानी रहेको र सो खानी उत्खनन् गर्ने भन्दै कम्पनी स्थापना गरी उत्खनन् गर्ने तयारी गरिरहेको तथ्य पनि फेला परेको छ । सो सुन खानीको म्याद आगामी २०८१ सम्म रहेको पनि खुलेको छ । प्रनिश पुन उक्त सुन खानीका समेत व्यवसायिक साझेदार रहेको खुलासा भएको छ । दुई हाई प्रोफाइल रोल्पाली पुन परिवारको सुन तस्कर गिरोहसँग व्यापारिक साझेदारीदेखि विचौलियाको भूमिका समेतमा संलग्नता भेटिए पनि उनीहरुविरुद्ध सीआईबीले कुनै कदम उठाएको छैन ।

प्रनिश प्रत्यक्ष व्यापारिक साझेदार रहेपनि दीपेश पुन भने गिरोहलाई सहजीकरण गर्न खटिने गरेको तथ्यहरु फेला परेका छन् । दीपेश गिरोहका सदस्यसँग हेलिकोप्टरमा गोसाइँकुण्डलगायतका स्थानमा सँगसँगै गएको तस्विर यसअघि नै सार्वजनिक भइसकेको छ । दावाकी पत्नी अमलासहित तीन जना चिनियाँ नागरिकलाई लिएर मनाङ एअरको हेलिकोप्टरमा दीपेश २०७६ माघ १ गते गोसाइँकुण्ड गएका थिए ।

मनाङमा रहेको छङफङ होटलमा दावा, अमला, मञ्जिल श्रेष्ठ, चिनियाँ नागरिक जिलियाङ, चेन काइमु, गुआङपेङ जोङ साझेदार रहेका बताइएको छ । जुन होटल ३० करोड चुक्ता पूँजीसहित २०७४ सालमा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको देखिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*