काठमाडौँ महानगरपालिकाको वडा नंं २३ ले पूर्वाधार सुधारतर्फ ४४ वटा कार्यक्रम कार्यान्वयनमा

२६ माघ २०८०, शुक्रबार १५:५३

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नंं २३ ले पूर्वाधार सुधारसँगै आर्थिक, सामाजिक, सांस्कृतिक उत्थानका कार्यक्रमलाई सन्तुलित रुपमा सञ्चालन गरेको जनाएको छ । आज वडामा आयोजना भएको सार्वजनिक सुनुवाई कार्यक्रममा वडाध्यक्ष एवं विधायन समितिका संयोजक मचाराजा महर्जनले गएको साउनदेखि पुस मसान्तसम्म भए गरेका कामको प्रगतिका विषयमा जानकारी गराउँदै यस्तो बताएका हुन् ।

यो वडामा आवासीय क्षेत्रभन्दा धेरै सम्पदा क्षेत्र छन् । जीवित देबी कुमारीको बासस्थान यही वडामा छ । नेवार समुदायको बाहुल्यता रहेको वडाको पूर्वमा वडा नं. २२, पश्चिममा वडा नं. २०, उत्तरमा वडा नं. २४ र दक्षिणमा वडा नं. २१ छन् । वडामा लगभग ७२० घरधुरी छन् । जनसंख्या १० हजार भएको अनुमान गरिएको छ ।

चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा वडाले पूर्वाधार सुधार कार्यक्रमअन्तर्गत ४४ वटा योजना कार्यान्वयनमा ल्याएको छ । यो संख्या सम्पन्न र निर्माणाधीन योजनासमेतको हो । सडक, गल्ली, चोकमा ढुङ्गा छाप्ने, ढल राख्ने, फल्चा, क्वापा, मन्दिर, त्वाछेँजस्ता सांस्कृतिक संरचनाको मर्मत सुधार, पानी ट््याङ्कीलगायत सुविधा वितरण प्रणाली पूर्वाधार सुधार कार्यक्रममा समेटिएका छन् ।

अनुदान सहायता शीर्षकबाट ३८ वटा कार्यक्रम भएका छन् । क्षमता विकास तालिम, जात्रा पर्व सञ्चालन, खेलकुदका कार्यक्रम, विशेष सरसफाइ र सौन्दर्य वृद्धि कार्यक्रम, खुला स्थानमा व्यायामका सामान राख्ने, परम्परागत सांस्कृतिक सिप प्रशिक्षणजस्ता कार्यमा यस शीर्षकबाट खर्च भएको वडाध्यक्ष महर्जनले जानकारी दिनुभयो । सहरी स्वास्थ्य क्लिनिक सञ्चालन, स्वास्थ्य उपकरण र औषधि खरिद गर्ने काम पनि यही शीर्षकबाट भएको छ ।

सामाजिक विकास कार्यक्रमअन्तर्गत सामाजिक संघ संस्थाहरुको क्षमता विकास कार्यक्रम भएको छ । यसमा त्वाः गुठी, समाज, संस्था, गृह, क्लव, दबु लगायत संघसंस्थाका ३३ जना पदाधिकारीलाई सहभागी गराइएको छ । २० जना युवालाई अन्तरराष्ट्रिय बजारमा स्थानीय उत्पादनको प्रबर्धन विषयक आर्थिक क्षमता विकास तालिम दिइएको छ । सांस्कृतिक बाजा र परम्परा संरक्षण गर्न ८ वटा गुठी खल हरेकलाई ५ लाख रुपैयाँका कार्यक्रम उपलब्ध गराइएको छ । धा बाजा, ढोलक, बाँसुरी, नाय खिँलगायत बाद्य प्रशिक्षण हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*