सेटिङमा दाङका भूपेन्द्र भण्डारीलाई दूरसञ्चार प्राधिकरणको अध्यक्ष बनाइदै, २५ जनाबाट छानिदैछ नयाँ अध्यक्ष

२६ माघ २०८०, शुक्रबार १६:५४

काठमाडौं । दूरसञ्चार सेवा प्रदायकहरुको नियामक नेपाल दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्षमा एनसेलको बजार प्रबन्धक भइसकेका भूपेन्द्र भण्डारीलाई नियुक्त गर्ने तयारी भइरहेको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माका सल्लाहकार रहेका भण्डारीलाई ठुलो रकम सेटिङमा नेपाल दुर सञ्चार प्राधिकरणको अध्यक्ष बनाउन लागिएको हो । सो विषय चुहिएर पार्टीभित्र र बाहिर समेत छ्यालब्याल भएपछि अहिले ढाकछोप गर्ने काम भइरहेको छ ।

एनसेलका बजार प्रबन्धकका भइसकेका भण्डारीले सन् २००८ देखि २०१५ सम्म स्मार्टसेल बुरुन्डीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को भूमिका समेत निर्वाह गरेका थिए । सञ्चारमन्त्री शर्माको सल्लाहकार हुनुअघि उनी एनसेलको सल्लाहकार थिए । उनले पे नेपाल प्रालि नाम गरेको कम्पनी समेत चलाएका बताइएको छ ।

प्राधिकरणको अध्यक्षका लागि सरकारले खुला आवेदन मागे पनि सेटिङमा भण्डारीलाई अध्यक्ष बनाउन मन्त्री नै लागेको बताइन्छ । भण्डारीसहित निजी क्षेत्रका टेलिकमसँग जोडिएका अन्य व्यक्तिको पनि आवेदन परेको छ ।

एनसेल कै कानूनी परामर्शदाता रहेका कमलप्रसाद खनाल पनि आवेदन दिन पुगेका छन् । प्राधिकरण अध्यक्षका लागि उनीहरूबाहेक मैनेजरप्रसाद साह कानू, रोहित रौनियार, देवनारायण यादव, सुरेशकुमार कार्की, प्रकाश बराल, नगेन्द्रकुमार दास, नन्दविक्रम अधिकारी, माधवप्रसाद रेग्मी, सागरनाथ उपाध्याय, डोलिन्द्रप्रसाद शर्मा, सुशील ओझा, नवीन जिसी, गिरेन्द्रराज अधिकारी, जनार्दन भट्ट, लक्ष्मीप्रसाद पण्डित, अनिल झा, दामोदर रेग्मी, शैलेन्द्र गिरी, श्रीकृष्ण सुवेदी, भूपेन्द्र भण्डारी, पंकजकुमार दास, गोकर्णप्रसाद सिटौला र चित्रसिंह बुढाथोकी मगरले आवेदन दिएका छन् ।

डोलिन्द्रप्रसाद साझा प्रकाशनलाई सिध्याएको आरोप लागेका व्यक्ति हुन् । सरकारी स्वामित्वको १०५ वर्ष पुरानो साझा प्रकाशनमा अनियमितता गरेको तथा बेथिति निम्त्याएको आरोप लागेका शर्मालाई २०७४ सालमा अध्यक्ष तथा महाप्रबन्धक पदबाट मुक्त गरिएको थियो । उनी पनि प्राधिकरणको अध्यक्ष पद हात पार्ने दौडमा छन् । तर २५ जना आकांक्षीमध्ये भण्डारीलाई मन्त्री आफैंले बोकेका कारण उनकै सम्भावना बढी रहेको बताइएको छ ।

भण्डारीलाई २०८० असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले दूरसञ्चार विज्ञका रूपमा मन्त्रालयमा नियुक्ति गरेको थियो । धनौरी–९ दाङ स्थायी ठेगाना भएका भण्डारीलाई सल्लाहकार नियुक्तिका लागि समेत मन्त्री शर्मा आफैंले प्रस्ताव लिएकी थिइन् । २०८० असार ५ गते नै मन्त्रालयले नियुक्त हुने सल्लाहकारलाई प्राधिकरणबाट तलबभत्ता र सवारी चालकसहित सवारीसाधन उपलब्ध गराउनेसम्बन्धी सहमति गराउन भन्दै पत्राचार गरेको थियो । तर प्राधिकरणले उनको सेवासुविधा भने साउनबाट मात्रै उपलब्ध गराएको बताइएको छ । भण्डारी एनआरएन पूर्व अध्यक्ष एवं मेडीसिटी अस्पतालका सञ्चालक डा. उपेन्द्र महतो निकट मानिन्छन् ।

एनसेलको पुरानो मालिक मलेसियास्थित एक्जियटासँग विशेष सम्बन्ध भएको विश्वास गरिएका भण्डारीले प्राधिकरणमा पुगेपछि एनसेलको शेयर खरिद बिक्री काण्ड सेटिङ गर्ने प्रतिबद्धता जनाएका छन् । चार वर्षपछि सरकार मातहतमा आउनुपर्ने एनसेलको अर्बौ रुपैयाँको शेयर कौडीको भाऊमा सतिलाल आचार्यले खरिद गरेर शतप्रतिशत शेयर हिस्सा आफ्नो बनाएका थिए । सो काण्ड अहिले पनि छानविनकै क्रममा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*