विमानस्थल कुटपिटको छानविनमा डीआईजी चन्दको काउन्टर, अध्यागमन अधिकृतलाई कडा चेक गर्ने प्रहरीलाई गरे पुरस्कृत

२६ माघ २०८०, शुक्रबार १८:११

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृतसँग भएको कुटपिट घटनामा संलग्न भनिएका २ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् । गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतम नेतृत्वको चाँचबुझ समितिले कारबाही सिफारिस गरेका २ जना प्रहरी कर्मचारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्दले पुरस्कृत गरेका हुन् ।

डीआईजी चन्दले प्रहरी नायव निरीक्षक (सई) प्रकाश चौधरी, सहायक निरीक्षक (असई) सन्जय तामाङ र जवान रविजंग गुप्तालाई पुरस्तृत गरे । चौधरीलाई १ हजार २००, तामाङलाई १ हजार १०० र गुप्तालाई ८०० रुपैयाँसहित डीआईजी पुरस्कृत गरेको बताइएको छ । पुरस्कारको विवरण अभिलेखमा जनिने गरी राष्ट्रिय प्रहरी किताब खानामा समेत उनले पठाइएका छन् ।

उता, गृहका सहसचिव गौतम नेतृत्वको समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका अधिकृतबीच भएको कुटपिट घटनामा डीएसपीसहित ४ प्रहरीलाई कारबाहीका लागि सिफारस गरेको छ ।

कारबाहीका सिफारिस हुनेहरुमा डीएसपी रेवतीरमण पोखरेल, असई सञ्जय तामाङ, प्रहरी जवान रविरन्जन गुप्ता र अर्का प्रहरी जवान राजकुमार महतो थिए । कारबाही सिफारिसमा परेका मध्ये २ सहित ३ जनालाई डीआईजी चन्दले पुरस्कार दिए ।

उनीहरुले आफ्नो ड्युटी कुशलतापूर्वक गरेको र प्रहरी जिम्मेवारी जिम्मेवार रुपमा निभाएको भन्दै डीआईजी चन्दले पुरस्कार दिएका हुन् । गौतम नेतृत्वको समितिले डीएसपीको कमाण्डमा खटिएका उनीहरुले आफ्नो जिम्मेवारी उचित ढंगले पूरा गर्न नसकेको भन्दै डीएसपी पोखरेललाई सचेत गराउन भन्दै छानबिन समितिले प्रतिवेदन बुझाएको थियो ।

अध्यागमन अधिकृत छायालाल मोक्तानसँग कुटपिटमा उत्रिएको भन्दै असई सञ्जय तामाङलाई निलम्बनका लागि सिफारिस गरिएको थियो । दुई प्रहरी जवान रविरन्जन गुप्ता र राजकुमार महतोले समेत छुट्टाएर घटनाबारे रिर्पोटिङ गर्नुपर्नेमा उल्टै कुटपिट गरेको भन्दै उनीलाई समेत विभागीय कारबाहीका लागि सिफारिस गरिएको छ ।

अध्यागमन अधिकृत छायालाल मोक्तानलाई समेत कारबाही गर्नका लागि सिफारिस गरिएको छ । जाँच गर्ने क्रममा शरीर खानतलासी गर्न पाउने अधिकार भएकाले जाँचका लागि सहयोग गर्नुपर्नेमा उल्टै जाँच गर्न नदिने र विवादमा उत्रिएकाले अध्यागमन अधिकृत मोक्तानलाई समेत कारबाहीका लागि सिफिारिस गरिएको छ ।

अध्यागमन अधिकृत मोक्तानले यसअघि सेवाग्राहीलाई हातपात गर्न खोजेको र सुन तस्कर, भिजिट भिसाको आवरणमा मानव वेखविखनमा संलग्न गिरोहसँग साँठगाँठ रहेका कारण नसिहत पाएका थिए । उनलाई आचरणसम्बन्धी समस्या देखिएकाले सोहीअनुसार कारबाही गर्नुपर्ने र तत्कालै जिम्मेवारीबाट हटाएर मन्त्रालय तान्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको बताइएको छ ।

माघ १२ गते घटनालगत्तै गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले छानबिन समिति गठन गरेका थिए । समितिमा गौतमका साथै नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यामन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसी सदस्य थिए ।

विमानस्थलको घटनामा जाँचबुझ समितिले प्रतिवेदन बुझाएपछि विमानस्थल प्रहरी प्रमुख डीआईजी चन्दले राजीनामा दिएका थिए । उक्त राजीनामा रीपूर्वक नभएको भन्दै आईजीपी बसन्त कुँवरलगायतले सम्झाई बुझाई गरेपछि प्रहरी प्रधान कार्यालय पुगिसकेको राजीनामा फिर्ता गरिएको थियो । उनको राजीनामा फिर्तासँगै १० दिनको विदा समेत स्वीकृत भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*