६ महिनामा फैसला कार्यान्वयनतर्फ ५ हजार जना पक्राउ, १ अर्ब १९ करोड भन्दा बढी जरिवाना असुल

२६ माघ २०८०, शुक्रबार १८:३०

काठमाडौँ । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ गरेको छ । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१ चैत १७ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय ठहर भई सजाय कार्यान्वयनको क्रममा कारागार कार्यालय सिन्धुपाल्चोकमा थुनामा रहेका थिए ।

२०७२ वैशाख १२ गतेको भूकम्पपछि भत्किएको कारागारबाट भागी, अन्य थुनुवा(कैदीलाई भगाई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले कास्की विजयपुरबाट पक्राउ गरेको थियो । साथै जिल्ला अदालत सिन्धुपाल्चोकको २०७४ फागुन ९ गतेको फैसलाले थुनुवा कैदी भागे भगाएको मुद्दामा लामालाई थप ९ वर्ष ६ महिना २० दिन कैद हुने ठहर गरेको थियो ।

यसैगरी लागूऔषध ब्राउनसुगर मुद्दामा संलग्न रही ११ वर्षदेखि फरार रहेका प्रतिवादी स्याङ्जा फेदिखोलाका ३३ वर्षीय विशन गुरूङ मंसिर १२ गते पक्राउ परे । अदालतको २०६९ असार १७ गतेको फैसलाले ५ वर्ष कैद र १० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले लुकिछिपी बसेको अवस्थामा फेदिखोलाबाट पक्राउ गरेको हो ।

यसरी अदालतबाट भएका फैसला कार्यान्वयनको सिलसिलामा पक्राउ पर्नेहरूको संख्या बढ्दो छ । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको ६ महिनाको अवधिमा ५ हजार ३६४ जना फरार प्रतिवादी पक्राउ परेका छन् । उक्त अवधिमा पक्राउ परेका प्रतिवादीहरूलाई तोकिएको २ हजार १ सय ३५ वर्ष १० महिना र २६ दिन कैद सजाय कार्यान्वयनमा आएको छ । साथै उनीहरूलाई तोकिएको १ अर्ब १९ करोड ८४ लाख ४९ हजार ३ सय ६१ रूपैयाँ जरिवाना असुल उपर गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*