रुसी सेनामा १५ हजार नेपाली भर्तीबारे अन्तर्राष्ट्रिय चासो, सीएनएनमा छापियो घाइते भई फर्किएका रामचन्द्रको कथा

२८ माघ २०८०, आईतवार १५:०१

काठमाडौं । युक्रेन विरुद्ध लड्न रुसी सेनामा भर्ना भएका नेपालीहरुकाबारेमा अन्तर्राष्ट्रिय चासो बढेको छ । रुसी सेनामा भर्ती भएका नेपालीबारे विशेष गरेर अमेरिकी चासो बढेको छ । अमेरिकी समाचार संस्था सीएनएनले रुसले युक्रेनविरुद्धको आफ्नो लडाईंका लागि १५ हजार भन्दा बढी नेपालीलाई भर्ती गरेको भनी समाचार प्रकाशन गरेको छ । उसले केही नेपाली फिर्ता भएको र केहीले कहिल्यै फिर्ता नहुनेगरी वीरगति प्राप्त गरेको तथा बेपत्ता भएको भनी उल्लेख गरेको छ ।

युद्धमा घाइते भएर हालै नेपाल फर्किएका ३७ वर्षीय रामचन्द्र खड्कालाई सीएनएनले आफ्ना साथीहरुको फिर्तीका लागि मन्दिरमा प्रार्थनना गर्दै गरेको अवस्थामा प्रस्तुत गरेको छ । खड्कालाई रुसी अर्थात् क्रेमलिनको सेनामा भर्ती भएकामा पछुतो लागिरहेको र आफ्ना साथीहरु फिर्तीका लागि भगवानसँग प्रार्थना गरिरहेको समेत सीएनएनले उल्लेख गरेको छ ।

खड्का पूर्व माओवादी लडाकु समेत रहेको र माओवादी शान्ति प्रक्रियामा आएको १७ वर्षपछि पनि बेरोजगार भएपछि रुसी सेनामा भर्ती हुन पुगेको विवरण समेत उसले समाचारमा समेटेको छ । रुसी सेनामा भर्ती हुनेहरुका आफन्त १४० जनाले उद्धारका आवेदन दिएका छन् । रुसी सेनामा भर्ती भएका नेपालीहरु लडाइँमा मारिएको, घाइते तथा बेपत्ता भएको खबरहरु सार्वजनिक भएपछि आफन्तहरुले उद्धारका लागि सरकारलाई गुहारेका हुन् ।

त्यसरी रुसी सेनामा रहँदा मारिएका र भर्ती भएर फर्किएका कतिपय नेपालीहरु सुरक्षा निकायका बहालवाला र पूर्व कर्मचारीहरु समेत रहेका बताइन्छ । सरकारले प्रतिबन्ध गरेको विदेशी सेनाको भर्ती रोक्न नसक्नुलाई गम्भीर चिन्ताको रुपमा लिइएको छ । बेलाय र भारतबाहेक अन्य देशमा नेपालबाट सैसजक भर्ना हुन पाउने व्यवस्था छैन । सरकारको आँखा छलेर चोरबाटो हुँदै रुसी सेनाका हजारौँ नेपाली भर्ना भएको तथ्य बाहिर आएको छ ।

एक विवरण अनुसार अमेरिकामा समेत नेपालीहरु सेनामा भर्ती हुन गएको र निश्चित समयपछि उनीहरुले ग्रीनकार्ड लिएको बताइन्छ । बाह्य मुलुकमा सैन्य भर्तीबारे अनुसन्धान गर्दै आएका झलक सुवेदीले रुसी सेनामा नेपालीहरुको भर्तीले युद्धग्रस्त ठाउँमा जान नदिन वा त्यस खालको वातावरण बनाएर नेपालले आफ्ना नागरिकको संरक्षण गर्न नसकेको सन्देश गएको बताएका छन् ।

बेलायतले गोर्खा सैनिकको भर्ना संख्या घटाउँदै लगेको र भारतले सैन्य भर्ती रोकेका कारण पनि नेपाली युवाहरु रुसी सेनामा भर्ती हुन पुगेको हुनसक्ने सुवेदीको तर्क छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*