अरुण चौधरीलाई हाजिर जमानीमा रिहा गर्ने न्यायाधीशलाई ‘डाँडा’ कटाइयो, दुर्गम जिल्लातिर सरुवा

२९ माघ २०८०, सोमबार १४:५२

काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यापारी अरुणकुमार चौधरीसहितलाई अनुसन्धान प्रभावित हुने गरी रिहा गर्न आदेश दिने काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्य कारबाहीमा परेका छन् ।

‘कारबाही’ स्वरुप उनलाई दुर्गम जिल्ला मुगु सरुवा गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश आचार्यलाई कारबाही स्वरुप मुगु सरुवा गरेको न्यायपरिषद सचिवालयले जनाएको छ ।

मुगु जिल्लाका न्यायाधीश रमाकान्त अधिकारी भने सिन्धुली सरुवा भएका छन् । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा नियोजित रुपमा व्यक्तिको नाममा ल्याएको विषयमा अनुसन्धान गर्दा दोषी देखिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले गएको माघ १८ गते सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरी, तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र चाँदबाग स्कुल सञ्चालक समितिका अध्यक्ष समेत रहेका सञ्जय ठाकुरलाई पक्राउ गरेको थियो ।

पक्राउ परेपछि ३ जनामाथि अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले पहिलो पटक ४ दिनको म्याद थप गरेको थियो । ४ दिनको म्याद सकिएपछि सीआईबीले उनीहरुलाई पुनः म्याद थपका लागि माघ २२ गते अदालतमा उपस्थित गराएको थियो ।

जिल्ला न्यायाधीश आचार्यको इजलासले व्यवसायी चौधरीसहित ठाकुर र थापालाई हाजिर जमानीमा छोडी बाँकी अनुसन्धान २ दिनभित्र सक्न भनी प्रहरीका नाममा आदेश दिएको थियो । अदालतको आदेशपछि चौधरी माघ २४ गते रिहा भए । सीआईबीले चौधरीसहित ३ जनाविरुद्धको अनुसन्धान भने जारी राखेको छ ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समेत अदालतको आदेश पालना गर्नुपर्ने भए पनि आफुहरुले मुद्दाबाट कुनै पनि हालतमा पछि नहड्ने अडान लिएका छन् । उनले संसदीय समितिमा समेत यो अडान प्रष्टसँग राखेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*