नेपालमा करिब ६० लाख नेपाली अझै गरिब, कर्णालीमा सुधार, सुदूरपश्चिममा सबैभन्दा बढी गरिबी

२९ माघ २०८०, सोमबार १६:१०

काठमाडौ । नेपालमा अझै २०.२७ प्रतिशत नेपाली गरिब रहेको तथ्याङ्क सार्वजनिक भएको छ । शहरमा ७ प्रतिशत र गाउँमा ४० प्रतिशत नेपाली गरिबीको रेखामुनि रहेको राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सावजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०७८–८०)ले देखाएको छ । काठमाडौमा ७ प्रतिशत र सुदूरपश्चिममा ४० प्रतिशत नेपाली गरिब रहेको देखिएको छ ।

सर्वेक्षण गर्दा शहरमा वार्षिक २ लाख ६३ हजार र गाउँमा ७१ हजार खर्च गर्न नसक्ने नेपालीलाई गरिब मानिएको छ । तथ्यांक कार्यालयका उप प्रमुख तथ्यांक अधिकारी डा हेमराज रेग्मीका अनुसार १२ वर्ष अघिको तथ्यांकमा नयाँ सीमा तोकेर नयाँ विवरण सार्वजनिक गरिएको हो ।

उनका अनुसार उपभोग्य वस्तुमा हुने खर्चका आधारमा गरिबीको रेखा निर्धारण गरिएको छ । एक दशकअघि नेपालमा २५.२ प्रतिशत नेपाली गरिबीको रेखामुनि थिए ।

तथ्यांक कार्यालयका अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार छ । प्रतिशतमा २०.२७ भनेको करिब ६० लाख जनसंख्या हो ।

यसैबीच, चौथो जीवनस्तर सर्वेक्षणका अनुसार सातवटै प्रदेशमध्ये सुदूरपश्चिम प्रदेशमा गरिबीको दर ३४.१६ प्रतिशत रहेको पाइएको छ । यसपछि गरिबीको दर कर्णालीमा पाइएको छ ।

कर्णालीमा २६.६९ प्रतिशत गरिबी देखिएको छ । सबैभन्दा कम गण्डकी प्रदेशमा ११.८८ प्रतिशत गरिबी भेटिएको छ । लुम्बिनीमा २४.३५ प्रतिशत, वागमतीमा १२.५९, मधेशमा २२.५३ र कोशीमा १७.१९ प्रतिशत गरिबीको दर छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*