अर्थमन्त्री डा. महतले भने-‘अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक, सुधारको काम पूरा गरेरै छाड्छौं’

२९ माघ २०८०, सोमबार १६:३०

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बाहिर जतिसुकै नकारात्मक टिप्पणी भइरहे पनि अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक रहेको जिकिर गरेका छन् ।

चालु आर्थिक वर्ष २०८०/०८१ को अर्धवार्षिक बजेट समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री महतले कठिन परिस्थितिमा पनि आफुहरुले आम्दानीको लक्ष्य पूरा गर्ने बताए । उनले भने, ‘आम्दानीको लक्ष्य पूरा हुन्छ । तर, खर्चको लक्ष्य पूरा गर्न कठिनाई छ । जस कारण खर्चको लक्ष्य घटाउनु परेको छ । जे भए पनि अर्थतन्त्र सुधारको जिम्मेवारी हामी पूरा गरेरै छाड्छौं ।’

मन्त्री महतले आर्थिक सुधारको विषयमा तत्काल परिणाम ननिस्कने बताए । उनले अगाडि भने, ‘जति सूचक छन्, सकारात्मक छन् । सबै सूचक सकारात्मक हुँदा आर्थिक गतिविधि बढ्छ । बजेट व्यवस्थापनमा  भने चुनौती छन् ।’

बजेट पद्दतिलाई चुस्त बनाउन अझै केहि समय लाग्ने उनले बताए । अर्थमन्त्री महतका अनुसार ‘पर्यटन क्षेत्रमा सुधार आएको छ । मूल्यवृद्धि नियन्त्रणमा छ, कर्जा प्रवाहमा चिन्ता थियो, तर आगामी दिनमा अझै बढ्छ भन्ने ‘कन्फिडेन्स’ बढाउनु छ ।’

‘विप्रेषण चलायमान हुँदा आर्थिक गतिविधि बढ्छ । तर, वस्तु आयात/निर्यात दुबै घटेको छ,’ महतले भने, ‘उत्पादनशील क्षेत्रले गति नलिँदा निर्यात कम हुन पुगेको हो । आयातमा गैरभन्सार चुहावटको आशंका गरिएको छ । सरकारको खर्चमा सर्वत्र चिन्ता छ । समग्र खर्च ३२.५७ प्रतिशत छ ।’

उनका अनुसार राजस्व संकलन ७७.४ प्रतिशत मात्र छ । राजस्व वृद्धिदर ९.६७ प्रतिशत छ । ‘यसबाट सन्तुष्ट छैनौं, बढाउँदै छौं,’ उनले अगाडि भने, ‘पहिले इन्धनमा आयातित गाडी बढी थिए । इभीको प्रमोसनमा जाँदा स्वाट्टै कर घटायौं, यसले महत्वपूर्ण भाग आयाततर्फको राजस्व घटायो ।’

विदेशी सहयोगमा पहिलेभन्दा बढी प्रतिबद्धता आएको उनको जिकिर छ । दातृ राष्ट्र र निकायले थप सहयोग गर्ने इच्छा जाहेर गरेको उनले बताए ।

‘साइट क्लियरेन्स, वन लगायतका समस्या छन्, तर पनि सहयोग बढ्दै जान्छ,’ अर्थमन्त्री महतले भने, ‘विश्व बैंकको एउटा सम्मेलन आगामी जुन तेस्रो साता नेपालमा हुँदैछ, जसमा ९२ देशका प्रतिनिधिको सहभागिता हुँदैछ । चाँडै हुन लागेको लगानी सम्मेलनमा समेत विदेशी लगानीकर्ताको चासो बढेको छ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*