डा.आनन्दप्रसाद श्रेष्ठ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेटरमा मनोनित

१ फाल्गुन २०८०, मंगलवार १५:०२

काठमाडौं । वरिष्ठ रेडियोलोजिष्ट डा.आनन्द प्रसाद श्रेष्ठ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिष्ठान सभा सदस्य (सिनेटर)मा मनोनित भएका छन् । प्रतिष्ठान सभाको गएको माघ १४ गते बसेको बाह्रौ बैठकले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६४ को दफा ७ उप–दफा (२) (न) मा व्यवस्था भए बमोजिम तीन वर्षका लागि प्रतिष्ठान सभा सदस्यमा मनोनित गरेको हो ।

अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेजबाट रेडियोलोजीमा विशेषज्ञता हासिल गरेका तथा चिकित्सा क्षेत्रमा चार दशक भन्दा बढीको अनुभव संगालेका डा. श्रेष्ठ नेपाली चिकित्सा क्षेत्रमा रेडियोलोजी विधालाई स्थापित गराउने अग्रणी चिकित्सक हुन् ।

नेपाल सरकारको उच्च शिक्षा प्राविधिक समितिका पूर्व सदस्य समेत रहिसकेका डा. श्रेष्ठ नेपाल मेडिकल काउन्सिलका पूर्व उपाध्यक्ष तथा नेपाल चिकित्सक संघको अध्यक्ष समेत भइसकेका छन् ।

डा. श्रेष्ठ नेपाल मेडिकल कलेजका संस्थापक संचालक शेयरधनी तथा नेपाल रेडियोलोजी सोसाइटिका सल्लाहाकार समेत हुन् । उनी हाल काठमाडौंको चावहिलस्थित ओम अस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको सञ्चालक समिति अध्यक्ष हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*