पर्यटन मन्त्रालयमा मन्त्री किराती र सचिव काफ्लेको आतंक, आर्थिक चलखेलका ३५ फाइल सदर

१ फाल्गुन २०८०, मंगलवार १७:१३

काठमाडौं । गौतम वुद्धको अस्थिधातु समाधिस्थल नवलपरासीको रामग्राम क्षेत्रको करिब १ सय २० विघा जमिन ९९ सय वर्षका लागि बिनाप्रतिस्पर्धा निजी कम्पनी ‘द प्रमिस्ड ल्याण्ड’लाई सुम्पिन योजनाबाट पछि हटेपनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आर्थिक चलखेलका ३५ वटा फाइल सदर गर्न लगाएका छन् ।

प्रधानमन्त्री प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीपुत्र निकेशको कम्पनीलाई बिनाप्रतिस्पर्धा सम्पदा क्षेत्र सुम्पिन लुम्बिनी विकास कोषको अध्यक्ष समेत रहेका मन्त्री किरातीले परिषद बैठक नै डाकेर निर्देशन दिएका थिए । तर, मन्त्रालयका तत्कालीन सचिव भरतमणि सुवेदीले टिप्पणी उठाउँदाताकै लिखित असहमति जनाए । आफ्नो योजनामा तगारो बन्न खोजेको भन्दै मन्त्री किरातीले सचिव सुवेदीलाई तत्काल सरुवा गरेर कोशी प्रदेशका प्रमुख सचिव रहेका डा. दीपक काफ्लेलाई ल्याए ।

काफ्लेलाई मन्त्री किरातीले नै छानेर ल्याएकाले उनले अह्राएको काम मात्रै गर्ने गरेका छन् । सचिव काफ्लेले जुनसुकै फाइल सोझै मन्त्रीकहाँ लैजाने गरेका छन् । त्यसभन्दा मुनि हेरफेर गर्नुपर्ने भए आफ्नै टेबुलमा बोलाएर शाखाअधिकृत, उपसचिव र सहसचिवहरुलाई दस्तखत गर्न लगाउँछन् ।

मन्त्री किरातीले रामग्राम द प्रमिस्ड ल्याण्डलाई सुम्पिनेलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित तीन ठूला विमानस्थल व्यवस्थापनको जिम्मा भारतीय कम्पनीलाई दिने जस्ता कयौँ योजनाहरु अघि बढाउन सचिव सुवेदीलाई दबाब दिएका थिए । कारणः तत्कालीन सचिव सुवेदी सञ्चारमन्त्री रेखा शर्माको अति निकट तथा नातेदार रहेका कारण आर्थिक चलखेलका झण्डै ३६ वटा फाइल सदर गराउन दबाब दिएका थिए ।

सुवेदीले कानून अनुरुप ती फाइल सदर गर्न नसकिने र पछि आर्थिक अनियमिततामा अख्तियार समेतले पक्रिनसक्ने भन्दै अघि बढाउन अस्वीकार गरेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको थियो । डा. काफ्लेलाई ल्याएर मन्त्री किरातीले सुवेदीले सदर गर्न नमानेका ३५ वटा फाइल शाखा अधिकृत, उपसचिव, सहसचिव हुँदै फटाफट सदर गराएको बताइएको छ । ती योजना अघि बढाउने योजना अनुरुप अहिले सचिव काफ्लेलाई उच्चस्तरीय मिटिङ भन्दै मन्त्री किरातीले विदेश पठाएका छन् ।

सचिव काफ्ले, मन्त्री किरातीको रणनीति तथा गतिविधिबारे पर्यटन राज्यमन्त्री सुशिला श्रीपालीले प्रधानमन्त्री प्रचण्डलाई ब्रिफ गरेकी छन् । । सचिव काफ्लेले राज्यमन्त्री श्रीपालीलाई दिइएको अधिकार क्षेत्रभित्रका फाइल समेत सोझै मन्त्री किराती कहाँ लैजान थालेपछि आन्तरिक टकरावसहित भित्रि गतिविधि छताछुल्ल भएको हो ।

आफुलाई बाइपास गरेर सचिव काफ्लेले फाइलहरु सोझै मन्त्रीकहाँ लैजाने गरेपछि राज्यमन्त्री श्रीपाली गुनासो लिएर प्रधानमन्त्री प्रचण्डकहाँ पुगेकी हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*