काठमाडौँ महानगरपालिकाका सबै वडामा अनुगमन समिति गठन

७ फाल्गुन २०८०, सोमबार १५:०७

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा स्तरीय अनुगमन समिति सबै वडामा गठन भइसकेका छन् । महानगरपालिकाको अनुगमन तथा मूल्याङ्कन कार्यविधिबमोजिम समिति गठन भएका हुन् ।

परियोजनाको अनुगमन, सुपरीवेक्षण तथा मूल्याङ्कन गर्ने संस्थागत तथा कानुनी प्रबन्ध आवश्यक भएकोले नगर कार्यपालिकाबाट कार्यविधि पारित गरिएको हो ।
कार्यविधिमा महानगरपालिकामा उपप्रमुखको संयोजकत्वमा ७ सदस्यीय अनुगमन तथा मूल्याङ्कन समिति गर्ने व्यवस्था गरिएको छ । यसबमोजिम समिति गठन भएर क्रियाशील छ । यो समितिमा प्रमुख प्रशासकीय अधिकृत, प्रमुखले तोकेको एक जना महिलासहित २ जना कार्यपालिका सदस्य, सार्वजनिक निर्माण विभागका प्रमुख र कानुन तथा मानव अधिकार विभागका प्रमुख सदस्य हुनुहुन्छ । समितिको सदस्य सचिव योजना अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख छन्। यो समितिसँगै विषयगत समितिहरुले आफ्नो क्षेत्रभित्र भएका विषयमा अनुगमन गर्न सक्ने, विभाग, सचिवालय, आयोजना, र एकाइले आफ्नो कार्य विवरणमा उल्लेख भएका कामको नियमित अनुगमन, सुपरीवेक्षण र मूल्याङ्कन गर्न सक्छन् ।

वार्षिक नीति, कार्यक्रम तथा बजेटमा समावेश भएका योजनाहरूको कार्य सम्पादन स्तर, गुणस्तरीयता र प्रभावकारिता कायम गर्नका लागि प्रमुखले जुनसुकै समयमा अनुगमन तथा सुपरीवेक्षण गर्न सक्ने व्यवस्था छ ।

वडा अनुगमन समितिको गठन

वडा समितिले तोकेको वडा सदस्यको संयोजकत्वमा ४ सदस्यीय वडा स्तरीय अनुगमन समिति गठन हुन्छ । समितिको सदस्यमा वडामा कार्यरत प्राविधिक कर्मचारी, वडा समितिले तोकेको सम्वन्धित क्षेत्रको विज्ञ छन् । सदस्य सचिवका रुपमा वडा सचिवले तोकेको कर्मचारी हुन् ।

वडा अनुगमन समितिको काम, कर्तव्य र अधिकार

वडाभित्र सञ्चालन हुने योजना, विकास योजना, आयोजना तथा संलग्न उपभोक्ता समितिहरूको कामको अनुगमन तथा नियमन गर्ने, खाद्यान्न, माछा, मासु, तरकारी, फलफूल, पेय पदार्थ तथा उपभोग्य सामग्रीको गुणस्तर र मूल्य सूची अनुगमन गरी उपभोक्ता हित संरक्षण गर्ने, उपभोक्ता समिति वा खरिद प्रक्रियाबाट वडा क्षेत्रभित्र सञ्चालन हुने योजना तथा कार्यक्रमहरू सम्पन्न नभएसम्म कार्यान्वयनका विभिन्न चरणहरूमा स्थलगत रूपमा अनुगमन तथा सुपरीवेक्षण गर्ने जिम्मेवारी समितिलाई दिइएको छ । यसै गरी आयोजना सञ्चालनको क्रममा बाधा अवरोध आइपरेमा समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्ने, योजना तथा कार्यक्रमको सम्झौता र कार्यतालिकाअनुसार कार्य भए/नभएको, कार्य स्थलमा सूचना पाटी राखे/नराखेको, गुणस्तरीय सामग्रीको प्रयोग भए/नभएको, वास्तविक लाभान्वित हुने उपभोक्ताहरू लाभान्वित भए/नभएको आदि विषयको अनुगमन गर्नेछ ।

वडा कार्यालयमा प्रत्येक महिनाको कम्तीमा १ पटक योजना तथा कार्यक्रम सञ्चालन गर्ने उपभोक्ता समिति, निर्माण व्यवसायी र सङ्घ सस्थाहरूको बैठक राखी योजना तथा कार्यक्रमहरूको प्रगतिका बारेमा समीक्षा गर्ने, उद्देश्यबमोजिम लक्षित उपभोक्ता वर्गमा योजनाको लाभ नपुगेको भए निर्माणकर्तालाई सुधार गर्न निर्देशन दिने, वडा स्तरमा सम्पन्न भएका योजना तथा कार्यक्रमहरूको सार्वजनिक परीक्षण गरी प्रतिवेदन पेस गर्ने, सञ्चालित आयोजना तथा परियोजना कार्यक्रमको सुरु गर्दा र पछिको फोटो संकलन तथा अभिलेखन गर्ने, स्थानीय जनतालाई पुगेको सुविधा, सेवाको गुणस्तर, वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन, निर्माण सामग्रीको व्यवस्थापन, सेवामा वृद्धि गराउनुपर्ने अवस्थाको सुपरीवेक्षण गरी जानकारी लिने काम समितिलाई दिइएको छ । निर्धारित समय सीमा तथा गुणस्तर कायम गर्न सम्बन्धित उपभोक्ता समिति, निर्माण व्यवसायी, परामर्शदाता वा सम्बन्धित योजना कार्यान्वयनको जिम्मा लिएको व्यक्ति वा सङ्घ संस्थाको कार्य सम्पादन स्तर उच्च भएमा पुरस्कृत वा सम्मान गर्न महानगरपालिकामा सिफारिस गर्ने, वडा स्तरमा सञ्चालन भएका कुनै आयोजनामा विवाद उत्पन्न भई समाधान हुन नसकेमा महानगरपालिकाको अनुगमन तथा मूल्याङ्कन समितिमा पठाउने काम वडा स्तरीय अनुगमन समितिको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*